आस्था /आध्यात्म

गुरहीको रंगमा रंगियो टीकापुर, संस्कृति र परम्पराको भव्य उत्सव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

थारू भेषभूषामा नाच्दै कोमल ज्ञवाली, गुरही पर्वमा छायो टीकापुरको सांस्कृतिक उमंग

टीकापुर, २ भदौ । हिजो सोमबार थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व गुरही टीकापुरमा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। टीकापुरको कान्छी बजार र नगरपालिका कार्यालयअगाडिको खुला मैदानमा आयोजित कार्यक्रममा थारू समुदायका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

गुरही पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कैलाली क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली थारू भेषभूषामा सहभागी हुँदै नाचगान गरेर पर्वको रौनक बढाउनुभयो। उहाँसँगै बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी तथा स्थानीयवासीले पनि थारू संस्कृति झल्किने गीत तथा नृत्यमा सहभागी भएर पर्वको आनन्द लिए।

दिनभरि टीकापुर बजारमा थारू भेषभूषामा सजिएका युवा–युवतीहरूको चहलपहल देखिएको थियो। विभिन्न समूहले मञ्चमा गीत तथा नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए। स्थानीय मौलिक कला, संस्कृति र परम्पराको प्रदर्शनले टीकापुरको वातावरण थप उल्लासमय बनेको थियो।

गुरही पर्वमा कपडाबाट बनाइएको गुरहीलाई साँझपख गाउँको दक्षिणतर्फ रहेको चौकमा लगेर विसर्जन गर्ने परम्परा छ। परम्पराअनुसार बालिका तथा किशोरीहरूले आफूले ल्याएको गुरही चौकमा फाल्ने र बालक तथा किशोरहरूले ‘दे घुघ्री, दे घुघ्री’ भन्दै सोंटाले गुरहीलाई ठटाउने चलन छ। त्यसपछि बालिकाहरूले गुरहीसँगै ल्याएको मकैको भुजा तथा गेडागुडी सबैलाई बाँडेर खाने परम्परा रहेको छ।

गुरही पर्व विशेषगरी बालबालिकासँग सम्बन्धित रहेको थारू समुदायका अगुवाहरू बताउँछन्। कोदैपुरका समाजसेवी तथा नेता राजाराम चौधरीका अनुसार गुरही मनाएमा बालबालिकालाई रोगव्याधीबाट जोगिने र महामारी नफैलिने जनविश्वास रहँदै आएको छ।

उहाँका अनुसार वर्षायाममा बालबालिकामा आँखा पाक्ने, घाउखटिरा आउने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिने गर्छन्। थारू भाषामा यस्ता समस्यालाई ‘खाँज’ भन्ने गरिन्छ। गुरही पर्व मनाएपछि बालबालिकामा लाग्ने ‘खाँज’ हट्ने तथा उनीहरू स्वस्थ रहने जनविश्वासका कारण पनि थारू समुदायमा यस पर्वको विशेष महत्व रहेको चौधरीले बताउनुभयो।

गुरही पर्वले थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामुदायिक एकतालाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने काम गर्दै आएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।