डोटीमा छोरीलाई बुवाले गर्भ बोकाएपछि..

धनगढी । पेट दुख्ने समस्या लिएर अस्पताल पुगेकी डोटीकी एक २१ वर्षीया युवती गर्भवती रहेको खुलेपछि गरिएको थप अनुसन्धानका क्रममा परिवारभित्रै लामो समयदेखि लुकेको गम्भीर घटना सार्वजनिक भएको छ।
दिपायल सिलगढी नगरपालिका क्षेत्रकी ती युवतीलाई उनका करिब ४५ वर्षीय बुवाले उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याएका थिए। स्वास्थ्य परीक्षणका क्रममा युवती १० हप्ताको गर्भवती रहेको पुष्टि भएपछि चिकित्सकले थप जानकारी लिने क्रममा उनी अविवाहित रहेको थाहा पाए।
घटनाबारे जानकारी पाएपछि प्रहरीले युवती र उनका बुवासँग सोधपुछ गरेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बुवा र छोरीबीच विगत तीनदेखि चार वर्षदेखि यौन दुर्व्यवहार भएको तथ्य खुलेको छ।
घटनापछि युवतीले आफ्नै बुवाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति जिल्ला प्रहरी कार्यालय डोटीको हिरासतमा छन् भने युवतीलाई सुरक्षित आवास (सेफ हाउस) मा राखिएको प्रहरीले जनाएको छ।
घटनाका क्रममा आरोपीकी श्रीमती पनि परिवारसँगै बस्दै आएको खुलेको छ। श्रीमान्को गतिविधिबारे जानकारी पाएपछि उनी जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन् र घटनाप्रति आक्रोश व्यक्त गरेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाको वास्तविकता र अन्य सम्भावित पक्षबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
