मेरुदण्ड भाँचिएपछि थलिएका हरिशलाई श्रीमतीले पनि छोडिन्, दुई छोराको जिम्मेवारीले थपियो पीडा

बैतडी, २ भाद्र । दुई वर्षअघि दुर्घटनामा मेरुदण्ड भाँचिएपछि ओछ्यानमै थलिएका बैतडीका ३१ वर्षीय हरिश अहिले जीवनकै कठिन अवस्थाबाट गुज्रिरहेका छन्। उपचारका क्रममा भएको सम्पत्ति सकिएको छ भने जीवनको एकमात्र सहारा बनेकी श्रीमतीसमेत सम्पर्कविहीन भएपछि उनको अवस्था झन् दयनीय बनेको छ।
दशरथचन्द नगरपालिका–९ का हरिश दुई वर्षअघि कञ्चनपुरमा छतमा रहेको पानीट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परेका थिए। बिजुलीको करेन्ट चुहावट हुँदा उनलाई झट्का लागेको थियो। त्यसपछि छतबाट खसेका उनको मेरुदण्ड भाँचिनुका साथै शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि उनले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराए। उपचारकै क्रममा भएको सम्पूर्ण सम्पत्ति सकिएपछि अहिले थप उपचार गराउनसमेत कठिन भएको उनी बताउँछन्। स्वास्थ्यमा केही सुधार आएपछि पनि उनी जिल्ला अस्पताल बैतडी र सेती अस्पताल धनगढीमा उपचार गराउँदै आएका थिए।
तर, अहिले उनलाई उपचारभन्दा पनि दैनिक जीवन धान्ने समस्या ठूलो बनेको छ। ओछ्यानबाट उठ्न, बस्न र सुत्नसमेत अरूको सहारा आवश्यक पर्ने हरिशलाई हेरचाह गर्दै आएकी श्रीमती विमला पनि सम्पर्कविहीन भएपछि उनी झन् समस्यामा परेका छन्।
हरिशका अनुसार साउन २० गते ‘औषधि लिन जान्छु’ भन्दै घरबाट निस्किएकी विमला अहिलेसम्म घर फर्किएकी छैनन्। श्रीमती सम्पर्कविहीन भएपछि उनले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका छन्। तर, हालसम्म उनको अवस्था अज्ञात रहेको हरिशले बताएका छन्।
घरमा ११ र ७ वर्षका दुई छोरा छन्। बाबु ओछ्यानमा थलिएका र आमा सम्पर्कविहीन भएपछि बालबालिकाको हेरचाह तथा घरखर्चको जिम्मेवारीसमेत हरिशमाथि आइपरेको छ। आफू स्वयं अरूको सहारामा बाँच्नुपर्ने अवस्थामा दुई छोराको भविष्यको चिन्ताले उनलाई थप पिरोलेको छ।
अहिले परिवार छरछिमेकीको सहयोग र मागेर पाएको खाद्यान्नबाट दुई छाक टारिरहेको छ। उपचारका लागि सम्पत्ति सकिएपछि आर्थिक रूपमा समेत कमजोर बनेका हरिशलाई अहिले औषधि र उपचारसँगै दैनिक खाना जुटाउनसमेत कठिन भइरहेको छ।
जीवनको कठिन मोडमा पुगेका हरिशले श्रीमती विमलालाई जहाँ भए पनि घर फर्केर सम्पर्कमा आउन आग्रह गरेका छन्। ‘उपचार र जीवन धान्नै कठिन भइरहेको छ, कम्तीमा छोराहरूको भविष्य सम्झिएर भए पनि सम्पर्कमा आउनुहोस्,’ उनको आग्रह छ।
हरिशको परिवार अहिले उपचार, आर्थिक सहयोग र हराइरहेकी श्रीमतीको खोजी—तीनै पक्षबाट सहाराको प्रतीक्षामा छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
