त्रिशूली सुरुङबाट भागेर बाँचे टीकापुर, जानकी र भजनीका १३ मजदुर

कैलाली । भदौ १० गते आएको विनाशकारी बाढीका बेला त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका टीकापुर, जानकी र भजनीका १३ मजदुर भागेर ज्यान जोगाउन सफल भएका छन्।
भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरीका अनुसार सुरुङभित्र सरिया मिलाउने काम गरिरहेका बेला एक्कासि ठूलो हावाहुरी चलेझैँ भएको थियो। बाहिर गएका एक चिनियाँ नागरिकले सुरुङभित्र बाढी आउन लागेको सूचना दिएपछि उनीसहित करिब ४० जना हतार–हतार बाहिर निस्केर सुरक्षित स्थानतर्फ पुगेका थिए।
बाढी केही शान्त भएपछि उनीहरू डेरामा फर्किए पनि मोबाइल नेटवर्क नहुँदा परिवारसँग सम्पर्क गर्न सकेनन्। भोलिपल्ट उद्धारको प्रतीक्षामा अग्लो डाँडामा पुगेका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी क्याम्पमा पुर्याएको थियो।
सेनाले भदौ १३ गते उनीहरूलाई बसमार्फत काठमाडौं पठाएको थियो भने भदौ १४ गते घर फर्किन प्रतिव्यक्ति पाँच हजार रुपैयाँ उपलब्ध गराएको थियो। भदौ १५ गते सन्तोषसहित भजनी, टीकापुर र जानकीका पाँच जनाको टोली घर पुगेको हो।
सन्तोषले आफूहरू ‘नयाँ जीवन लिएर घर फर्किएको’ बताए। उनका अनुसार सुरुङभित्र काम गर्ने अझै धेरै व्यक्ति सम्पर्कविहीन छन्। कैलाली र कञ्चनपुरका ३५ सहित सुदूरपश्चिमका एक सय ४० भन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ। प्रहरीले आइतबारसम्म ३६ जना सम्पर्कमा आएको जनाएको छ।
सन्तोषसँगै आकाश डगौरालगायतका मजदुरले केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्ने बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
