नारायणी अस्पतालबाट नवजात शिशु लिएर हिडेकी महिला पक्राउ

पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई अनधिकृत रूपमा लिएर गएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१६ की २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खातुनले सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वाका रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु देवीले नारायणी अस्पतालमा शल्यक्रियामार्फत जन्माएको नवजात बालकलाई लिएर गएकी थिइन्।
रिंकुले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बच्चा जन्माएकी थिइन्। बच्चा जन्मिएपछि अस्पतालमा सुत्केरीको कुरुवा बसेकी आफन्त महिलासँग खातुनले बच्चा खेलाउने बहाना बनाएको र त्यसै क्रममा नवजात शिशुलाई लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नवजात शिशु अनधिकृत रूपमा लगिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी खोजी सुरु गरिएको थियो। खोजीका क्रममा प्रहरीले शिशुलाई सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको जनाएको छ।
पक्राउ परेकी खातुनलाई नियन्त्रणमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। नवजात शिशुलाई अस्पतालबाट लैजानुको वास्तविक कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताएका छन्।
प्रहरीले घटनाको थप अनुसन्धानपछि मात्रै शिशु लैजानुको उद्देश्य र घटनाको पूर्ण विवरण खुल्ने जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
