सयपत्री खेतीबाट आत्मनिर्भर बन्दै सीताराम

टीकापुर, १४ कात्तिक । विदेशमा रोजगारी खोज्दै भौँतारिने युवाका लागि कैलाली बनगाउँका सीताराम चौधरी उदाहरण बनेका छन् । आफ्नै माटोमा पसिना बगाएर सयपत्री फूल खेती गरेका उनले घरआँगनमै फूल फुलाएर आत्मनिर्भर बन्ने बाटो रोजेका छन् ।

चौधरीले आफ्नै मेहनत र लगानीमा गरेको सयपत्री खेती अहिले ढकमक्क फुलेको छ । बारीभरि फुलेका पहेँला र सुनौला फूलले उनको मेहनत मात्रै झल्काउँदैनन्, स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशसमेत दिएका छन् ।


रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता र स्वदेशमै अवसर नदेख्ने प्रवृत्तिबीच चौधरीको प्रयासले कृषि पेसालाई व्यावसायिक बनाउन सके आफ्नै गाउँठाउँमा पनि आम्दानीको स्रोत सिर्जना गर्न सकिने देखाएको छ ।

फूल खेतीलाई सामान्य रूपमा लिनेहरूका लागि उनको प्रयास प्रेरणादायी बनेको छ । मेहनत, सीप र लगनशीलता भए आफ्नै माटोमा पनि जीवन बदल्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।
सयपत्री फूलको माग विशेषगरी तिहारलगायतका चाडपर्वमा बढी हुने भएकाले यसको व्यावसायिक खेतीले किसानलाई आम्दानीको राम्रो अवसरसमेत दिन सक्छ ।



You must be logged in to post a comment.