टीकापुर

टीकापुर सामुदायिक पुस्तकालयलाई प्रदेशको १० लाख बजेट

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कुनै समय सामुदायिक उत्साह र साझा सपनाको प्रतीक बनेको टीकापुर सामुदायिक पुस्तकालय पछिल्लो समय अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पुस्तकालयको स्थापना गर्दाको उत्साह निराशामा बदलिँदै गएको टिप्पणी गर्दै उनीहरूले यसको संरक्षण, व्यवस्थापन र पुनर्जीवनका लागि स्थानीय सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसरमा सामुदायिक पुस्तकालय टीकापुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकालयको वर्तमान अवस्था, भविष्य र संस्थागत दिगोपनाबारे प्रश्न उठाए । उनीहरूले पुस्तकालयलाई पुस्तक राख्ने स्थानमा मात्र सीमित नराखी अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको जीवन्त केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले पुस्तकालयको विकासका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए । प्रदेश सभा सदस्यको संसद् विकास कोषबाट विनियोजन गरिएको उक्त रकम पुस्तकालयको अवस्था सुधार तथा विभिन्न पक्षको सुदृढीकरणमा खर्च गरिने उनले बताए ।

बिज्ञापन

चौधरीले पुस्तकालयको विकास प्रदेश सरकारको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालयले पनि अपनत्व लिनुपर्ने बताए । स्थानीय तहले पुस्तकालयलाई आफ्नै मातहतको संस्थाका रूपमा स्वीकार गरी यसको प्रगतिका लागि नीति तथा कार्यक्रम बनाउनुपर्ने उनको भनाइ थियो ।

पूर्वऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले समाजका अगुवाहरूले अब भविष्यको चिन्ता मात्र नगरी वर्तमानमा गर्न सकिने काममा ध्यान दिनुपर्ने बताए । भविष्य कसैले नदेखेको उल्लेख गर्दै उनले उपलब्ध अवसरको सदुपयोग गरेर समाजका लागि सकारात्मक काम गर्नुपर्ने धारणा राखे ।

नागरिक समाजका संयोजक भीमराम चपाईंले पुस्तकालयको आवश्यकता कहिल्यै समाप्त नहुने भए पनि यसको सञ्चालन शैली समयअनुसार परिवर्तन हुनुपर्ने बताए । संस्थाहरूमा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या देखिन थालेको उल्लेख गर्दै उनले पुस्तकालयको दिगो सञ्चालनका लागि कार्यसमितिले स्पष्ट योजना बनाउनुपर्ने सुझाव दिए ।

समाजसेवी नवराज रावलले पुस्तकालय स्थापना गर्दाको उत्साह अहिले निराशामा परिणत हुँदै गएको टिप्पणी गरे । जिम्मेवार निकायबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै उनले पुस्तकालयको विकासका लागि सम्बन्धित पक्षले गम्भीरता देखाउनुपर्ने बताए ।

टीकापुर बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा. जगत्बहादुर सिंह रावलले प्रविधिको विकाससँगै पुस्तकालयको महत्व घटेको मान्न नहुने बताए । विभिन्न ठाउँका पुस्तकालयमा प्रवेशका लागि समेत समय लिनुपर्ने उदाहरण दिँदै उनले पाठक आकर्षित गर्ने कार्यक्रम र समयसापेक्ष सेवा विस्तार आवश्यक रहेको बताए । पुस्तकालयलाई चलायमान बनाउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

पुस्तकालयका अध्यक्ष देवानन्द रिमालको अध्यक्षतामा भएको कार्यक्रममा सन्त निरंकारी मण्डलका केन्द्रीय अध्यक्ष नरबहादुर रावल, पुस्तकालयका पूर्वअध्यक्ष उदयराम अधिकारी, समाजसेवी रामचन्द्र शर्मा कँडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

सचिव दीपक बोहराले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष प्रतिभा चौधरीले स्वागत गरेकी थिइन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन