घटना

जिउँदो व्यक्तिको मृत्यु दर्ता बनाएर ७ करोडको जग्गा बिक्री, ५ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । जिउँदो व्यक्तिको नक्कली मृत्यु दर्ता गरेर जग्गा बिक्री गर्ने गिरोहलाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।
जापानमा बस्ने व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर कीर्तिपुर–२ स्थित कित्ता नं. ३४४ को ३६१.९५ वर्गमिटरको जग्गा बिक्री गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्तिदेवी लोहनीको जग्गा नक्कली कागजात बनाएर बिक्री गरिएको हो । लोहनी बेलाबखतमा मात्र नेपाल आउने गर्थिन् । सोहीक्रममा २०६१ माघ १३ गते उनले सो जग्गा खरिद गरेर पुनः जापान गएकी थिइन् ।

उनी यही जेठ ५ गते नेपाल आइन् । जेठ १३ गते मालपोत कार्यालय कलंकीमा सक्कल पूर्जा देखाएर बायोमेट्रिक प्रणालीमार्फत् अभिलेखन गर्ने क्रममा उनको जग्गा बिक्री भइसकेको खुलेको थियो ।
गिरोहले उनको मृत्यु भएको भन्दै मृत्यु प्रमाणपत्र पेश गरेर नक्कली तारानिधि लोहनी (श्रीमान) बनेर नामसारी गरेका थिए । नक्कली तारानिधि बनेका व्यक्तिको नामबाट २०७७ फागुन १० गते सुनीता कर्माचार्यको नाममा नामसारी भएको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जानकारी दिएको छ । ती नक्कली तारानिधि बनेका व्यक्तिले शान्तादेवीको मृत्यु २०७७ भदौ १३ गते कालगतिले भएको र उसको हकवाला आफू श्रीमान भएको भन्दै कीर्ते कागजातहरू बनाएर २०७७ पुस १५ गते मृत्यु नामसारी गराएका थिए ।

बिज्ञापन

त्यसपछि फागुन १० गते सुनीता कर्माचार्यलाई तीन करोड ७० लाख रूपैयाँमा बिक्री गरिएको खुलेको छ ।

वास्तविक जग्गाधनी शान्तादेवीले करीब ७ करोड मूल्य बराबर पर्ने जग्गाको ठगी मुद्दामा अनुसन्धानका लागि ब्युरोमा असार १ गते जाहेरी दिएकी थिइन् । ब्युरोले सो गिरोहलाई काठमाडौंका विभिन्न स्थान र चितवनबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला घर भई हाल काठमाडौं टोखा–८ बस्ने महावीर चन्द (नक्कली तारानिधि), सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोठी बस्ने गणेशबहादुर खनाल, सोलुखुम्बु घर भई बूढानीलकण्ठ बस्ने बाबुराम कार्की, नुवाकोट घर भई काठमाडौं वनस्थली बस्ने प्रेमप्रसाद खनाल र काठमाडौं तारकेश्वर घर भई वनस्थली बस्ने ममता भन्ने डासीमाया श्रेष्ठ रहेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।