बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

बर्दिया । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जंगल सफारी गर्छन् ।
मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुशी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’, उनले भने, ‘पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।’

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जंगल वाक’ गर्ने पर्यटकको संख्यामा वृद्धि भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हालसम्म १० हजार बढी पर्यटकले निकुञ्ज घुमेको बताइएको छ । निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बाघलाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ । रासस
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
