राष्ट्रिय समाचार

जुलुस र आमसभा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्रै

बिज्ञापन

काठमाडौं, कात्तिक १६ गते । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरूले कात्तिक १७ गते अर्थात् बिहीबारदेखि मङ्सिर १ गते साँझ निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।

बिज्ञापन

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म सो बमोजिम निर्वाचन प्रचारप्रसार गर्न सकिने व्यवस्था छ ।-

निर्वाचन आयुक्त एवम् केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने बताउनुभयो ।

राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसारका लागि जुलुस, आमसभा, कोणसभा वा भेला गर्दा २४ घण्टा अगाडि स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन आयुक्त भण्डारीका अनुसार कुनै पनि दलले स्थानीय प्रशासनलाई यस विषयमा जानकारी दिइसकेपछि एउटा दलले कार्यक्रम गर्ने ठाउँमा अर्को दलले कार्यक्रम गर्न गर्न पाउने छैनन् । 

आमसभा गर्दा अत्यन्तै सभ्य, अनुशासित र भद्र भएर आफ्नो कार्यक्रम सञ्चालन सञ्चालन गर्नुपर्ने भनाइ उहाँको छ । यसरी कार्यक्रम सञ्चालन गर्दा व्यक्ति विशेषको घर नजिकै र व्यक्ति विशेषलाई लाल्छाना लगाउने प्रयोजनले कुनै पनि शब्दहरू उच्चारण गर्न पाइँदैन ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगा वा स्टिकर वा कपडा, टोपी वा क्याप, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।  

निर्वाचन आचारसंहिताले तोकेको ढाँचा अनुसार पर्चा,  पम्प्लेट बनाउनुपर्ने र निर्वाचन प्रचारप्रसार गर्नुपर्ने हुन्छ ।

उहाँले कुनै एक दलले निर्वाचन प्रचारप्रसार गर्दा अर्को दलको कार्यक्रमलाई प्रतिकूल असर पार्न नहुँदैन बताउनुभयो । कार्यक्रम बिथोल्ने, अरूलाई आरोप प्रत्यारोप गर्नेलगायतका कुनै विषयवस्तुले असर परे कारबाही हुने छ ।

जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ ।

आयोगले कुनै पनि कानुन प्रतिकूल, निर्वाचन ऐन नियम प्रतिकूल र निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रतिकूल काम नहुने र सार्वजनिक स्थलहरूमा झण्डा, पर्चा–पम्प्लेट राखिएको छ भने त्यो झिक्न आयोगले आग्रह गरेको छ ।

त्यस्तै, निर्वाचन आचारसंहिताले तोकेको परिधिभित्र रहेर राजनीतिक दलले पर्चा पम्प्लेट राख्न सक्नेछन् । राजनीतिक दलले १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाउने र यदि त्योभन्दा बढी प्रयोग गरे कारबाहीमा पार्ने निर्वाचन आयुक्त भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिताले निषेध गरेको विषयलाई राजनीतिक दलहरूले गर्नुहुन्न र आचारसंहिता अनुकूलताको मात्रै काम लिएर जनता समक्ष जानुहुनेमा आयोग विश्वस्त रहेको उहाँको भनाइ छ ।

यसैगरी, आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

बिज्ञापन