राष्ट्रिय समाचार

बरन्डामै सुत्छन् कैदीबन्दी
२५ जना अट्ने कारागारमा १२१ जना

बिज्ञापन

सल्यान । जिल्ला कारागारमा पर्याप्त भवन र कोठा नहुँदा कैदीबन्दी बरन्डामै सुत्न बाध्य छन्न् । कैदीबन्दीको संख्या बढ्दै गएपनि पूर्वाधार थप हुन नसकेको हो ।

बिज्ञापन

सल्यान जिल्ला कारागारमा अहिले ८ वटा मात्रै कोठा छन्, जसमध्ये २ मा महिला र ६ वटा कोठामा पुरुषलाई राखिएको छ । कारागारमा २१ महिला, ९८ पुरुष गरी १ सय १९ कैदीबन्दी र २ बालक छन्न् ।
पूर्वाधार अभावमा लामो समयदेखि वर्षातको समयमा पानी र हिउँदमा चिसोको समस्या झेल्नुपरेको कैदीबन्दी बताउँछन् । चौकीदार निमलाल विष्टले साघुँरो कोठा तथा कैदीबन्दीको चाप बढी भएकाले अहिले १८ कैदीबन्दी बरन्डामा सुत्नु परेको बताए । ‘पूर्वाधार उहीको उही छ, कैदीबन्दी भने बढेका बढ्यै छन्,’ उनले भने, ‘हाम्रा न्यूनतम आवश्यकता पनि पूरा भएका छैनन्, केहीलाई अन्यत्र सरुवा गर्न माग गरिए पनि बेवास्ता भइरहेको छ ।’

बरन्डा छाएको कर्कटपाता जीर्ण भएकाले वर्षात्को समयमा पानी चुहिने हुँदा रातभरि भाँडामा पानी थापेर बस्नुपर्ने उनी बताउँछन् । कारागारमा क्षमताभन्दा झन्डै ५ गुणा कैदीबन्दी हुँदा सबैतिर असर परिरहेको छ । सुत्न मात्र नभई शौच गर्न पनि समस्या रहेको चौकीदार विष्टले बताए । समस्या समाधानका लागि सम्बन्धित निकायले पनि चासो नदेखाएको उनको गुनासो छ । बरन्डामा खाल्डैखाल्डा भएकाले त्यसमा ओछ्यान बिछ्याएर सुत्दा जीउ दुख्ने गरेको र छानाबाहेक चारैतिर खुला भएकाले चिसोमा राम्रोसँग निद्रा नलाग्ने गरेको ४७ वर्षीय कैदी मीनबहादुर घर्तीले बताए । ‘वर्षात्को समयमा लगातार पानी पर्दा धेरै दिन राम्रोसँग सुत्न पाइएन, पानी सोहोर्न र फाल्न मात्र ठिक्क हुन्थ्यो,’ उनले भने, ‘यो हिउँदमा पनि जाडोले काम्दै सुत्नुप¥यो ।’ गर्मी बढेपछि केही सहज भए पनि अरू समस्या उस्तै रहेको उनको भनाइ छ ।

कारागारका निमित्त प्रमुख बलबहादुर केसीले २५ जनाको क्षमता भएको कारगारमा अहिले १ सय २१ जना कैदीबन्दी रहेको बताए । उनका अनुसार कैदीबन्दी सुत्न मात्र नभई शौचालय, खानेपानीलगायत विभिन्न समस्या भोग्न बाध्य छन । बजेटको अभावका कारण जीर्ण भवन मर्मत गर्न नसकिएको उनले बताए । केही कैदीबन्दीलाई सरुवा गरे पनि चाप अझै नघटेको उनको भनाइ छ । जीर्ण तथा साघुँरो संरचना हुँदा सुरक्षाकर्मीसमेत समस्यामा परिरहेको उनी बताउँछन् । संघीय र प्रदेश सरकारसँग बारम्बार भवन निर्माणको माग राख्दै आए पनि जग्गाको अभावमा अहिलेसम्म बजेटको व्यवस्था हुन नसकेको उनले जानकारी दिए ।

कारागारको अनुगमन गरेका कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले समस्याबारे प्रदेश सरकारका विभिन्न मन्त्रालयमा पेस गरिने बताए । उनका अनुसार जीर्ण कारागार भवनले कैदीबन्दीको ज्यान जोखिममा परेको छ । वि.सं. १९१० सालमा तत्कालीन राजारजौटाले तबेलाका रूपमा निर्माण गरेको भवन अहिले कारागारमा प्रयोग गरिएको हो ।

बिज्ञापन