Sudur Pradesh News

लिजमा जग्गा लिएर गोदावरीमा राजधानी !

बिज्ञापन

अत्तरिया । कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशसभाले राजधानी घोषणा गरेको ५ वर्ष पुग्न थाले पनि अहिलेसम्म भौतिक रुपमा कुनै पनि काम हुन सकेको छैन । २०७५ असोज १२ गते बसेको प्रदेशसभाको बैठकले गोदावरी नगरपालिका वडा नं २ र ४ को तेघरीमा स्थायी राजधानी निर्माण गर्ने निर्णय गरेको थियो । तर, संघिय सरकार मातहत रहेको उक्त क्षेत्र अहिले सम्म पनि प्रदेश सरकारको मातहतमा आउन सकेको छैन ।

बिज्ञापन

प्रदेश सरकारले २०७५ माघ २० गते पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जग्गा भोगाधिकार हस्तान्तरण गरिदिन भनेर पत्राचार गरेको थियो । तर, त्यसपछि पटक–पटक जग्गा हस्तान्तरणका लागि आग्रह गर्दा पनि प्रदेश सरकारले जग्गा पाउन नसकेको जनाउँदै आएको छ ।
सुदूपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गोदावरीमा राजधानी नबन्नुको एउटै मुख्य कारण संघिय सरकारबाट प्रदेश सरकारलाई जग्गा हस्तान्तर नहुनु भएको बताएका छन । उनले पछिल्लो चरणमा जग्गा लिजमा लिएर भएपनि राजधानी निर्माण गर्नुपर्ने प्रस्ताव राखेको बताए ।

‘यो जग्गामा राजधानी बनाउनका लागि कि त यो जग्गा प्रदेश सरकारको मातहतमा आउनु प–यो कि त हामीलाई लिजमा दिनुप–यो’ गोदावरीका स्थानीयसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले भने ‘नेपाल सरकारले यो जग्गा हस्तान्तरण गर्न वा लिजमा दिनका लागि के चाहिएको हो त्यो कुरा भन्न त प–यो ।’
उनले जग्गा हस्तान्तरणका लागि संघिय सरकारलाई पटक पटक दबाव दिने गरेको भएपनि बेवास्ता गरेको बताए । ‘दबाव हामीले दिएका छौ । अब एउटा मन्त्रीले अर्को मन्त्रीसंग गएर कुटामारी गर्नु भएन । हामीले नीति, बिधि भित्र रहेर कुरा गर्ने हो’ उनले भने ‘हामीले आफूले घर बनाउने त होइनौ । प्रदेश सरकारका घर बन्ने हुन ।’

बिज्ञापन