Sudur Pradesh News

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

बिज्ञापन

सहजपुर, कात्तिक ९ गते । पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिकास्थित उक्त चोक  निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ । हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरू कम गर्नुका साथै दुर्घटनाका घटनाहरू पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाइट टाइम’ सेट गरेपछि आफैँ खुल्ने र बन्द हुने प्रविधिको छ ।

अत्तरिया चोकमा  ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभई सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जगेर्ना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ ।

वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताउनुभयो । “नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ” उहाँले भन्नुभयो,“सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौँ, यसले चोकलाई पनि सुन्दर देखाउनेछ भन्ने विश्वास लिएको छु ।”

बिज्ञापन

यसैबीच नगरपालिकाले मङ्गलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको छ । २०७५ सालको पुस महिनामा जडान गरिएको उक्त बोर्डले चोकको सुन्दरता बिगारेको बताइएको छ ।

बिलबोर्ड जडानका लागि २०७४ सालमै क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता भएको जनाइएको छ । चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले चोकमा सिसी क्यामरा, स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामग्री डिस्प्ले गरिने जनाइएको थियो । त्यसका साथै कम्पनीले चोकमा रहेको उद्यानको सजावट, ट्राफिक बुथ, सोलार प्रतीक्षालय र सडक लाइट पनि जडान गर्ने सम्झौता उल्लेख गरिएको थियो । त्यति मात्रै नभई चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले नगरपालिकालाई राजस्व तिर्नेसमेत सम्झौतामा उल्लेख छ । तर सम्झौता अनुसार कम्पनीले काम नगर्दा चोक नै कुरूप बनेको थियो ।

नगरवासीले चोकको बिलबोर्ड हटाउन पटक–पटक माग राख्दै आएका थिए । नगरप्रमुख भट्टले नगरवासीको माग बमोजिम चोकको बिलबोर्ड हटाइएको जानकारी दिनुभयो । “नगरवासीको धेरै माग भएकाले म निर्वाचित भएर आएदेखि नै मुख्य प्राथमिकतामा यसलाई हटाउने विषय राखेको थिएँ ” उहाँले भन्नुभयो “सोही अनुसार निर्माण कम्पनीसँग छलफल पनि गरेँ, गत साउन १२ गतेभित्र हटाउने भन्ने निर्णय पनि भयो, तर निर्माण कम्पनीका प्रतिनिधिले ‘माइन्युट’मा हस्ताक्षर नगरी नै निस्किएपछि काम गर्न ढिलाइ भयो ।”

उहाँले बोर्ड हटाउनका लागि निर्माण कम्पनीसँग पटक–पटक पत्राचार गर्दा पनि कम्पनीले अटेरी गरेपछि कानुनविद्सँगको छलफलमा हटाइएको बताउनुभयो । उहाँले कम्पनीले सम्झौता अनुसारका कुनै पनि काम नगरेको र नगरपालिकालाई पनि राजस्व प्राप्त नभएको बताउनुभयो ।

नगरपालिकाले बिल बोर्ड हटाएकामा अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटाले खुसी व्यक्त गर्नुभयो ।

“बिलबोर्ड राख्ने समयमा पनि एक्लै सङ्घले विरोध गरेको थियो” उहाँले भन्नुभयो “त्यतिबेला हाम्रो कुरा सुनिएन, अत्तरिया चोक व्यावसायिक कम्पनीलाई विज्ञापनका लागि जिम्मा दिइएको थियो ।” उहाँले चोकलाई अझ व्यवस्थित बनाउन उद्यानको रङगरोगन गर्ने, चोकमा भएका अव्यवस्थित तार हटाउने लगायतका काम गर्नुपर्ने बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन