Sudur Pradesh News

‘मन भुलाउनै गाह्रो भयो’

बिज्ञापन

कैलाली: दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो। श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन्। छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ।

बिज्ञापन

‘एउटा घटना जुन नहुनु थियो त्यो भयो। त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन’, मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ। बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउछिन्। ‘राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो। त्यो घटना बिर्सने आधार बन्थ्यो’, मञ्जु भन्छिन्, ‘रकम पाएर र सान्त्वनाले मन भुलाउन गाह्रो छ। छोराछोरीको शिक्षा तथा रोजगारीका लागि सरकारसँग आश गरेकी छु।’

चार वर्षको उमेरमा बुबा गुमाएका दार्चुलाका दिपेशराज विष्टको लालनपालन कान्छी आमा जयन्ती विष्टले गरिन्। जागिरको सिलसिलामा दिपेशकी आमाले बाहिर हुँदा कहिल्यै उनलाई बुबाआमाको अभाव महसुस हुन नदिएकी जयन्तीले विगतबारे बोल्नै सकिनन्। ‘म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दिपेश कहिल्यै नफर्कने भयो’, जयन्ती भन्छिन्, ‘इजरायलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस्। त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ।’इजरायलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बताउछन्। ‘परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो।’ हमासको कब्जामा रहेका विपिन जोशीको सकुसल उद्धार गर्न उनले सरकारसँग माग गरे। 

फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताए। राजनको स्मृतिमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षयकोष निर्माण गर्ने उनको  योजना छ। राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलारा बताउछन्। 

बिज्ञापन