कञ्चनपुरमा कांग्रेस र माओवादीबीच कार्यगत एकतामा समस्या

काठमाडौं । केन्द्रमा सत्तारुढ दलहरुबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भए पनि जिल्लामा भने समस्या देखिएको छ । खासगरी जिल्लामा नेपाली कांग्रेसका विभिन्न समितिले गठबन्धन नगर्ने बताएपछि चुनावमा कार्यगत एकतामा समस्या देखिएको हो ।
कञ्चनपुर नेपाली कांग्रेसमा नेता रमेश लेखक र एनपी साउदको गृह जिल्ला समेत हो । कञ्चनपुरमा नौवटा स्थानीय तह छन् । नौ पालिकामध्ये कांग्रेसका चारवटा पालिकाले गठबन्धन नमान्ने निर्णय गरेका छन् ।

उनीहरुले विज्ञप्ति नै जारी गर्दै कांग्रेस एक्लै निर्वाचनमा जाने बताएका छन् । सदरमुकामसमेत रहेको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका कांग्रेसका पालिकास्तरीय कार्यसमितिले निर्वाचनमा तालमेल गर्न नसकिने बताएका हुन् ।
कञ्चनपुर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको समेत चासो जोडिएको जिल्ला हो । ०६४ सालको संविधानसभा निर्वाचनमा देउवा कञ्चनपुरबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनीहरुले जिल्ला कार्यसमिति र केन्द्रीय समितिलाई गठबन्धन स्वीकार्य नहुने पत्र नै पठाएका छन् । यस्तो अवस्थामा कञ्चनपुरमा चुनावी तालमेलमा समस्या हुनसक्ने सम्भावना देखिएको छ । अधिकांश पालिकामा कांग्रेसले नेतृत्व दाबी गरेको छ । माओवादीले पनि कम्तीमा चारवटा पालिका पाउनुपर्ने बताउँदै आएको छ । एकीकृत समाजवादीको पनि दाबी छ ।
कांग्रेससभित्रको ब्यापक असन्तृष्टिका कारण पार्टीले जवरजस्ती गठबन्धन गरे पनि त्यसले निर्वाचनको नतिजामा असर पर्ने सम्भावना देखिएको छ । कञ्चनपुरमा नेता एनपी साउद र रमेश लेखकको छुट्टाछुट्टै गुट छ । उनीहरु दुवैले एक–अर्काको अस्तीत्व स्वीकार गर्दैनन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
कांग्रेसकै नेता–कार्यकर्ताहरुका अनुसार उनीहरु दुवै एकअर्काको समूहलाई हराउन सक्रिय छन् ।
केन्द्रमा जसरी पनि मिलेर जाने सहमति भएपनि जिल्ला र वडा तहसम्मै त्यसबारे विरोध देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले भने गठबन्धनका विरुद्धमा बोलेका छैनन् । चर्को विरोधबीच साझा उमेदवार बनाए बागी उमेदवारी दिने तयारी कांग्रेसका नेता–कार्यकर्ताहरुले गरेका छन् ।
कांग्रेसमा प्रत्येक पालिकामा नेतृत्वका लागि दर्जनौं आकांक्षी देखिएका छन् । नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी गठबन्धनमा भागवण्डाबारे कुनै सहमति नभएको बताउँछन् । उनले भने,“तालमेलकै टुङ्गो छैन । केन्द्रबाट कुनै कार्यविधि नै आएको छैन ।”