राजनीति

कैलालीमा गठबन्धनको भागबन्डा कांग्रेस ७, माओवादी ४ र समाजवादीलाई २ पालिका

बिज्ञापन

टीकापुर । कैलालीमा सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । लामो प्रयासपछि आइतबार मध्यरातमा गठबन्धनबीच चुनावी तालमेलबारे सहमति जुटेको हो ।

बिज्ञापन

सहमतिअनुसार १३ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ४ र नेकपा (एकीकृत समाजवादी) पार्टीले २ वटा पालिका पाउने भएको छ ।

कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कांग्रेसले धनगढी उपमहानगरपालिकासहित लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका पाउने सहमति भएकमो जानकारी दिए ।

उनकाअनुसार माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा उम्मेदवार उठाउने सहमति भएको हो ।

यी पालिकाहरूमा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाउने ठाउँमा माओवादीले उपप्रमुख पाएको छ भने माओवादीले प्रमुख उठाएको ठाउँमा कांग्रेसले उपप्रमुखका उम्मेदवार उठाउनेछ तर एकीकृत समाजवादीलाई भने गोदावरी नगरपालिकामा मात्र उपप्रमुख दिइएको छ ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले जितेका वडामा कांग्रेसका उम्मेदवार र मओवादीले जितेका वडामा माओवादीका उम्मेदवार उठाउने सहमति भएको छ भने एकीकृत समाजवादीले एमालेबाट विभाजित भएर पाएका वडाहरू मात्र पाउनेछ ।

गत निर्वाचनमा एमालेले जितेका २४ वडामा भने तीन वटै दलले ८⁄८ का दरले लिने सहमति गरेका छन् ।

कैलालीमा सत्तारुढ गठबन्धनभित्रको भागबन्डा जिल्लास्तरीय नेतृत्वले टुंग्याउन नसकेपछि प्रदेशको जिम्मा दिइएको थियो । प्रदेश पनि लामो प्रयासपछि मात्र सहमति गरेको छ ।

माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ भने एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ ।

बिज्ञापन