राजनीति

सुदूरपश्चिमलाई विकासका लागि बढी बजेट छुट्याउँछु : देउवा

बिज्ञापन

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास पहिलो प्राथमिकतामा रहेको बताए । धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे देउवाले यस्तो बताएका हुन् । उनले विकासका लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउँदै यहाँ सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे । उनले सुदूरपश्चिमका सबै ठाउँमा धेरै काम गरेको बताए ।

बिज्ञापन

‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ । सबै ठाउँमा मैले काम पनि गरेको छु ।’ उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको दाबी गरे । ‘तपाईंहरूलाई थाहा छ, यहाँ भारत भएर आउनुपर्थ्यो,’ देउवाले भने, ‘यहाँ २२ वटा पुल बनाए । कर्णाली पारी पनि राति जान नपाउने अवस्था थियो । अहिले राति जान पाउने व्यवस्था मिलाएको छु ।’ अब धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने उनले प्रतिबद्धता जनाए ।

फरक सन्दर्भमा बोल्दै देउवाले बागी उम्मेदवारलाई नछाड्ने चेतावनी पनि दिएका छन् । कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागीलाई कारबाहीको चेतावनी दिएका हुन् । एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यक रहेको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन् ।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ । बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ । मन्तव्यमार्फत पनि हामीले उम्मेदवारी फिर्ता लिएका छौं,’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु । बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। मान्यता दिइने छैन । अहिले झगडा गर्ने हैन । बागी उठ्दा हामीले पहिले पनि हारेकै हो । अहिले पनि बागी उठेर पार्टी हा¥यो भने कुनै पनि हालतमा माफी गरिने छैन ।’

कैलालीको कैलारी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरे । फिर्ता नलिए कारबाही हुने उनको भनाइ छ ।

बिज्ञापन