Sudur Pradesh News

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा गठबन्धनभित्रै तीन दलको दाबी

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धनलाई सहज बहुमत पुगेको छ । नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सीट पाएका छन् ।

बिज्ञापन

कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सीट पाएको हो । माओवादीले ८ प्रत्यक्ष जित्दा ३ समानुपातिक सीट सुरक्षित गरेको हो । नेकपा एसले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ सीट पाएको छ ।

२७ जना सांसद हुँदा सुदूरपश्चिममा बहुमत पुग्छ । तीन दल मिल्दा प्रदेशसभा सदस्यहरूको संख्या ३४ हुन्छ । प्रदेशसभामा सत्ता गठबन्धनभन्दा बाहिर एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ सीट छ ।

गठबन्धनको सरकार बन्ने पक्कापक्की हुँदा मुख्यमन्त्री भने कुन दलले पाउने भन्ने विषय पेचिलो छ । अहिले यहाँ कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीको लागि दाबी गरिरहेका छन् ।

निर्वाचनअघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्ने घोषणा गरेका थिए । उनले पार्टीमात्रै घोषणा गरेनन् माओवादी केन्द्रबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेसमेत बताएका थिए । भट्ट र देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा हो । प्रधानमन्त्री देउवाले डडेल्धुरामा आयोजित कार्यक्रममा भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दा कांग्रेसभित्रै अहिले त्यो विषयले महत्त्व पाएको छैन । कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीबाट हुने जनाएको छ ।

‘यसअघि माओवादीले पाँच वर्ष चलाइसकेको छ । अब प्रदेशको मुख्यमन्त्री कांग्रेसबाट हुन्छ’, प्रदेश समितिका महामन्त्री मेघराज खड्काले भने, ‘यहाँ कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।’

कांग्रेसभित्र अहिले खड्कासहित करिब आधा दर्जन व्यक्ति मुख्यमन्त्रीको लबिङमा छन् । कञ्चनपुरबाट निर्वाचित बहादुर थापा र देवानसिंह विष्ट, कैलालीबाट निर्वाचित प्रकाश देउवा र कमल शाह अहिले मुख्यमन्त्रीको लबिङमा छन् । यीमध्ये प्रकाश देउवाको सम्भावना रहेको बताइन्छ ।

‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउँछ । यहाँको मुख्यमन्त्री प्रकाश देउवा बन्ने सम्भावना अधिक छ’, कांग्रेस उच्च स्रोतले भन्यो । प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

यता माओवादी भने यसअघि प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै माओवादीलाई मुख्यमन्त्री भनेपछि उत्साहित छ ।

‘यस विषयमा पहिले केन्द्रमा छलफल हुन्छ’, माओवादी प्रदेश इन्चार्जसमेत रहेका खगराज भट्ट भन्छन्, ‘प्रदेशको मुख्यमन्त्रीको विषय केन्द्रबाट टुङ्गिन्छ ।’ भट्ट माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार हुन् ।

यता नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीमा दाबी गरेकाे छ ।

‘हाम्रो दाबीमात्रै होइन सशक्त दाबी छ’, नेकपा एसका नेता दीर्घ सोडारीले भने, ‘यस पटक सुदूरपश्चिम प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।’

सोडारी अहिले प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री छन् । एमालेबाट १४ जना सांसदलाई सनाखत गराएर नेकपा एसलाई प्रदेशकै ठूलो दल बनाउने सोडारी पनि यस पटक मुख्यमन्त्रीको चर्चामा छन् ।

उनले भने, ‘अन्य प्रदेशमा यसअघि नै हाम्रो पार्टीको मुख्यमन्त्री भइसक्नु भएको छ । यहाँ यस पटक हामीले पाउनुपर्छ भन्नेमा हामीले पार्टीभित्र आवाज उठाइरहेका छौं ।’

बिज्ञापन