राजनीति

कांग्रेससँग कुरा नमिले एमालेसँग सहकार्य हुन्छ- देव गुरुङ

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले गठबन्धनको भावनाअनुरूप कांग्रेस अघि नबढे नेकपा एमालेसँग सहकार्यको विकल्प नरहेको बताएका छन् ।

बिज्ञापन

दृष्टिन्यूजसँग कुरा गर्दै महासचिव गुरुङले भने– ‘सरकारविहीनताको परिकल्पना गर्न सकिन्न । कांग्रेससँगको सहकार्यमा सरकार गठन गर्न नसकिने अवस्थामा सरकार गठनका लागि हामी अन्य विकल्पका लागि तयार छौं । त्यस्तो अवस्थामा एमालेसँग पनि सहकार्य हुनसक्छ ।’

वर्तमान गठबन्धन कांग्रेसकै निरन्तरताको लागि मात्र नभएर गठबन्धनमा रहेका सबै दलको भावनाको सम्मान गर्नुपर्ने भएकाले ‘कांग्रेस र फेरि कांग्रेस’कै लागि आफूहरू तयार नरहेको उनको धारणा रहेको छ ।

महासचिव गुरुङले कांग्रेस वा अन्य शक्तिसँगकाे सहकार्यमा पनि माओवादीको बटमलाइन प्रधानमन्त्री नै रहेको बताएका छन् । जसको नीति उसैको नेतृत्व र वर्तमान राजनीतिक परिस्थितिमा देशको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले नै गर्नुपर्ने उनको तर्क रहेको छ ।

एमालेसँग सहकार्य गर्न सकिने बताए पनि महासचिव गुरुङले यस विषयमा एमालेसँग औपचारिक छलफल भने नभएको बताए । उनले भने– ‘हामी गठबन्धनकै निरन्तरताको पक्षमा छौं । अन्तिमसम्म गठबन्धनबाटै सहमति खोज्ने प्रयत्न गरिएको छ । अहिलेसम्म एमालेसँग सहकार्यका लागि औपचारिक छलफल भएको छैन । तर, गठबन्धनमा कुरा नमिले तत्काल छलफल अघि बढ्छ ।’

यसअघि एमालेले ‘प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न तयार छौं’ भने पनि यस विषयमा प्रचण्डले केही प्रतिक्रिया दिएका छैनन् । तर, शनिबार भने एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘समय बितिसक्यो अब प्रचण्ड प्रधानमन्त्री बन्दैनन्’ भनेका थिए ।

बिज्ञापन