अस्ताए महान फुटबलर पेले

काठमाडौं । केही समययता जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका विश्व प्रख्यात फुटबलर पेलेको मृत्यु भएको छ । तीनपटक फिफा विश्वकप जित्ने उनी एकमात्रै खेलाडी हुन् । ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा पेले टीमकाे मुख्य सदस्य थिए ।
सन् २००२ मा फिफाले पेलेलाई शताब्दीकै उत्कृष्ट फुटबलर घाेषणा गरेकाे थियाे ।

२१ वर्षको खेल करिअरमा कुल १ हजार ३६३ खेल, विश्व कीर्तिमानी १ हजार २८१ गोल, जसअन्तर्गत आफ्नो देश ब्राजिलका लागि ९२ खेलमा ७७ गोलको सानदार रेकर्ड राखेका उनी केही समय मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।
नियमित परीक्षणमा ट्युमर पत्ता लागेपछि सेप्टेम्बर २०२१ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको पेटबाट ट्युमरको शल्यक्रिया गरिएको थियो । नोभेम्बर २०२२ को अन्त्यमा उनलाई पुनः अस्पतालमा भर्ना गरिएको थियो ।
पेलीकी छोरी केली नासिमेन्टोले नियमितरूपमा सामाजिक सञ्जालमार्फत मार्फत पेलेको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै आएकी थिइन् । नसिमेन्टोले बिहीबार एक तस्बिर सार्वजनिक गर्दै बाबुको मृत्युको अधिकारिक पुष्टि गरेकी हुन् ।
परिवारका सदस्यहरूको हातको तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘हामी जे छौं सबै तपाईँलाई धन्यवाद छ । हामी तपाईंलाई असीम माया गर्छौं । रेस्ट इन पिस।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
