घटना समाचार

निर्मला हत्या प्रकरण : डिआइजीको नेतृत्वमा समिति गठन

बिज्ञापन

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बिज्ञापन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छन् । यसअघि उनी प्रहरी उपरीक्षक हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएका थिए ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सिआइबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको छ । यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सिआइबी नै खटिएकाले पनि सिआइबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका छन् ।

सोही आधारमा आज प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछाने समक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पुर्याउन प्रहरीलाई निर्देशन दिएका छन् । विसं २०७५ साउनमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो । अहिलेसम्म उक्त घटनाका दोषी पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।

बिज्ञापन