राष्ट्रिय समाचार

सिंहदरबारमा नागरिकको पहुँच पुर्‍याउन प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

बिज्ञापन

काठमाडौं । देशको मुख्य प्रशासनिक क्षेत्र हो, सिंहदरबार । तर, सिंहदरबार सर्वसाधारण नागरिकको पहुँचभन्दा टाडा छ ।
बेला बेला सहजरुपमा सिंहदरबार छिर्न पाउनुपर्ने मागसमेत उठ्दै आएको छ । तर, अहिलेसम्म सर्वसाधारण नागरिकको माग सम्बोधन हुन सकेको छैन ।

बिज्ञापन

यसैलाई मध्येनजर गर्दै गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

शनिबार आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै छलफल गरेका हुन् । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

साथै, प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटमा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

साथै, तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन