राष्ट्रिय समाचार

सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

बिज्ञापन

पोखरा, पुस १७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

बिज्ञापन

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि आफूले काम गर्ने बताउनु भएको हो। उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभएर सिङ्गै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहालले विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महसुस गरेको बताउनुभयो। 

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ।’

उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको बताउनुभयो। शान्ति सम्झौतामा आएदेखि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री भएदेखि नै लगातार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बारेमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, उद्योग व्यवसायी र आम जनतासँग निरन्तर संवाद र अन्तरक्रिया गर्दै आएको सम्झना गर्नुभयो। 

‘‘यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर यहाँका जनताले पटकपटक गरेको प्रयासमा आन्दोलन, सङ्घर्ष र अनशन तोड्नका लागि म आफैँले लिएका पहलकदमी र भूमिकाको स्मरण गरिराखेको छु’’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘पहिलो पटक प्रधानमन्त्री हुँदा या दोस्रो पटक प्रधानमन्त्रीको रूपमा पनि यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दूतावासमा मात्रै होइन, चीन भ्रमणका सन्दर्भमा चिनियाँ नेतासँग मैले लगातार गरेका संवाद, अन्तरक्रिया स्मरण गरिरहेको छु।’’ 

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस् र समग्र आर्थिक विकासमा योगदान गर्न सकोस् भन्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय केन्द्रको रूपमा पोखरा विश्वभरि परिचित भएको चर्चा गर्नुभयो। 

‘‘तपाईंहरुसँगै हामी सबैको सपना यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस्। यसले हाम्रो समग्र आर्थिक विकास एउटा नयाँ योगदान पोखराले गर्न सकोस्। यसै पनि पोखरा नेपालकै एउटा पर्यटकीय केन्द्रको रूपमा विश्वभरि परिचित छ’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो। 

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ठोस योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो। कार्यक्रममा सो विमानस्थल निर्माणमा योगदान पुर्‍याउनु भएको पूर्वपर्यटन मन्त्रीलाई पनि सम्मान गरिएको थियो।

बिज्ञापन