खेलकुद

नामिबियाविरुद्ध नेपाल विजयी– तीन खेलाडीको अर्धशतक, सन्दीपको तीन विकेट

बिज्ञापन

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तरगत नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट र १५ बल बाँकी छँदै पूरा गरेको हो ।

बिज्ञापन

नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख, ज्ञानेन्द्र मल्ल र  कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै नेपालले सानदार जित निकालेको हो ।

नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी १३९ रनको साझेदारी गरे । जुन नेपाली क्रिकेटमा हालसम्मकै उच्च साझेदारी हो ।

ओपनर कुशल भुर्तेल ५ बलमा १ रन बनाएर आउट हुँदा आसिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८१ रन जोडे ।
ज्ञानेन्द्र मल्ले ७४ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन जोडे ।

कुशल मल्ले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग ९२ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोडेर क्याच आउट भए ।

रोहित ४२ बल ५ चौकाको मद्दतमा ३९ रन बनाएर पभेलियन फर्किए ।

नामिबियाको बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले । उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे । फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भए । सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुके ।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए । कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी भएका छन् । उनले २३ खेलबाट ५१ विकेट लिएका छन् । त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए ।

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । नामिबियालाई हराउँदै लगातार लगातार तेस्रो जित निकालेको नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना बचाइराखेको छ ।

नेपालले लिग २ मा २७ खेलमा ११ जित १४ हार एक बराबरीसहित २४ अंक जोडेको छ ।

बिज्ञापन