राष्ट्रिय समाचार

प्रधानमन्त्रीसँग विष्णु र रविकाे छुट्टाछुट्टै भेटवार्ता

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहानै बालुवाटार पुगेका छन् ।

बिज्ञापन

सोमबार बिहान फरक फरक समयमा उनीहरू प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । आइतबार बेलुकीमात्रै नेपाली कांग्रेसका सभापति सहित पदाधिकारीको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेका थिए ।

राष्ट्रपति निर्वाचनको मिति तय भएसँगै कांग्रेसले पाँच दलीय गठबन्धन ब्युँताउने कसरत गरिरहको छ । एमालेसहितको सरकार गठन भएपछि प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारलाई विश्वासको मत दिएर राष्ट्रपति आफुले पाउनुपर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघि आइतबार साँझ कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापालगायत बलुवाटार पुगेका थिए ।

त्यसलगत्तै पौडेल र लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिए । छलफलबारे बालुवाटारले कुनै कुरा सार्वजनिक गरेको छैन ।

माओवादीको पदाधिकारी बैठक आज बस्दै छ । अपरान्ह ४ बजे बस्ने बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल गर्ने बताइएको छ ।

बिज्ञापन