खेलकुद

रोहित पौडेलको ब्याटिङ मास्टरक्लास

बिज्ञापन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मैदानमा आज नेपालले स्कटल्यान्डविरुद्ध रोमाञ्चक जीत दर्ता गर्दा कप्तान रोहित पौडेलले आफ्नो जीवनकै सर्वोत्कृष्ट इनिङ खेले । हारको मुखबाट जीत निकाल्ने क्रममा उनले गरेको साहसिक प्रदर्शन नेपाली समर्थकले लामो समय भुल्ने छैनन् ।

बिज्ञापन

नेपालका सबैभन्दा कान्छा क्रिकेट कप्तान हुन् रोहित । तर, उनको क्रिकेटिङ सेन्स दशकौंदेखि खेलिरहेको कुनै दिग्गज खेलाडीभन्दा कम छैन । स्कटल्यान्ड जस्तो बलियो टीमविरुद्ध कठिन पिचमा र संकटको अवस्थामा उनले गरेको ब्याटिङ आईसीसीको उत्कृष्ट एकदिवसीय इनिङको सूचीमा पर्नलायक छ ।

रोहितले यही त्रिवि मैदानमा गत चैतमा पपुवा न्यूगिनीविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका थिए । तर, त्यो म्याच उनले नेपाललाई जिताउन सकेनन् । खेलपछि प्रतिक्रिया दिँदै उनले शतकको मजा नआएको बताएका थिए । आज उनले शतक हान्न पाएनन् । तर, शतक हानेको भन्दा बढी आत्मसन्तुष्टि उनलाई मिल्यो । स्वाभाविक रुपमा म्यान अफ दि म्याचका लागि हकदार थिए र भए ।

रोहितको ब्याटिङ सबै विशेषताहरुले भरिपूर्ण थिए । यसमा परिपक्वता थियो, आक्रामकता थियो, संयम थियो र चतुरता पनि थियो । कतिबेला पनि नअत्तालिइकन एउटा लिजेन्डको शैलीमा उनले नेपाललाई जीतसम्म पुर्‍याए । आजको म्याचपछि उनलाई नेपालले अहिलेसम्म पाएका सर्वोत्कृष्ट ब्याट्सम्यानका रुपमा चर्चा गर्न थालिएको छ ।

नेपालले ६.५ ओभरमा १९ रन बनाउँदा २ विकेट गुमाएपछि क्रिजमा आएका थिए पौडेल । तीनभन्दा कम रनरेटमा नेपालले संघर्ष गरिरहेको बेला रोहितले रनका लागि कुनै हतारो देखाएनन् । उनलाई थाहा थियो, क्रिजमा सेट भएपछि रन निस्किँदै जान्छ । रोहितले ९ बलसम्म रनको खाता नै खोलेका थिएनन् । २०औं बलमा उनको ब्याटबाट पहिलो चौका निस्कियो । त्यसपछि पछाडि फर्केर हेरेनन् ।

अर्को इन्डबाट एकपछि अर्को ब्याट्सम्यानले साथ छोड्दै गए पनि डग्मगाएनन् रोहित । उनी एक्लैले नेपाललाई अघि बढाइरहे । जीतको सम्भावना जीवित राखिरहे । नेपालले ६१ रनमा नै पाँच विकेट गुमाइसकेको थियो । अन्तिम आशाका रुपमा रोहित र दीपेन्द्रसिंंह ऐरीको जोडी थियो । तर, दीपेन्द्र पनि आज नचलेपछि रोहित एक्लै परे । तर, स्कटल्यान्डका बलरलाई कति पनि आफूमाथि हावी हुन दिएनन् ।

यसअघिका तीनवटै म्याचमा नेपालका लागि विनिङ रन हानेका सोमपाल कामी आउट भएपछि नेपाल ११४ रनमा ७ विकेटको दयनीय अवस्थामा पुग्यो । सन्दीपले केहीबेर रोहितलाई साथ दिए । तर, उनी पनि ठूलो सट हान्ने चक्करमा आउट भएपछि नेपालका लागि हारको औपचारिकतामात्रै बाँकी रहेको अवस्था थियो । तर, करण केसीले सुझबुझपूर्ण ब्याटिङ गर्दै आफूभन्दा ११ वर्ष कान्छा कप्तानलाई अन्तिमसम्म साथ दिए ।

नेपाली टीमका विस्फोटक ब्याट्सम्यानका रूपमा चिनिन्छन् करण । तर, आज परिस्थितिको मागअनुसार करणले आफ्नो आक्रामक रुप लुकाए र संयमित ब्याटिङ गरे । फुलटस बलमा पनि उनले ठूला सट खेल्न चाहेनन् । अर्को इन्डमा रहेका कप्तानलाई स्ट्राइक दिनमा उनको ध्यान केन्द्रित थियो । दुईपटक उनले नो बलमा ब्याट घुमाउने मौका पाए । त्यसमध्ये एउटालाई बाउन्ड्री पार गराए । त्यस ओभरबाटै खेल निर्णायक ढंगले नेपालको पक्षमा मोडिएको थियो ।

करण र रोहितबीच ७५ रनको अविजित साझेदारी भयो । नेपालको ब्याटिङ पंक्ति लामो हुनुको फाइदा पनि आज मिल्यो । अन्यथा १० नम्बरमा आउनेहरुले कमैमात्र ब्याटबाट योगदान दिन सक्छन् । करणले आज के पनि प्रमाणित गरे भने उनीसँग ठूला र जोखिमपूर्ण सट खेल्ने क्षमतामात्रै छैन, आवश्यक पर्दा क्रिजमा टिकेर स्ट्राइक रोटेट गर्दै लामो पार्टनरसीप गर्ने खुबी पनि छ ।

अनि रोहित ? उनीसँग त के छैन ? छोटो कदका यी ब्याट्सम्यानले छोटो समयमै लामो दूरी पार गरिसकेका छन् । आउँदा दिनहरुमा नेपालको ब्याटिङमा रोहितमा धेरै निर्भर रहनेछ । घरेलु मैदानमा जस्तै प्रदर्शन विदेशी भूमिहरुमा देखाएमा उनी विश्वले चिन्ने ब्याट्सम्यान बन्नेछन् ।

बिज्ञापन