राजनीति

बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम

बिज्ञापन

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् ।

बिज्ञापन

प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर कारबाही गर्न माग गर्दै सर्वोच्चमा दायर रिटप्रति उनले टिप्पणी गरेका हुन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याइएको बताए । पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईको आरोप छ ।

यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिन उनले आव्हान गरे । त्यसका लागि कार्यगत एकतामा जोड दिए ।

भट्टराईले भने ‘मैले एउटा मन बनाइसकेको छु, ‘मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ ।
माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि ।’

आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरी महसुस गरेर अघि बढ्नु देश र जनताको लागि कल्याणकारी हुने उनको भनाई थियो ।

बिज्ञापन