राष्ट्रिय समाचार

प्रशासनले हटाउन लगायो ‘महाराजाधिराज’ लेखिएको ब्यानर, पूर्वराजालाई र्‍यालीमा हिँडाउन रोक

बिज्ञापन

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर आयोजकले हटाएको हो ।

बिज्ञापन

नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनका बीच बैठक भएको थियो । बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको सो भनाइपछि आफूहरू ब्यानर हटाउन सहमत भएको राप्रपाका नेता रामु पोखरेलले नेपाल प्रेसलाई बताए ।

अभिनन्दन कार्यक्रमका लागि जिप्रकाले लिखित अनुमतिसमेत दिएको छैन । आयोजकका तर्फबाट अनुमति मागिएपछि जिप्रकाले ‘माथि’ जानकारी गराएको थियो । माथिको निर्देशनअनुसार जिप्रकाले अनुमति नदिएको हो । तर, प्रमुख जिल्ला अधिकारी र आयोजकबीच मौखिक समझदारी भएको छ । त्यही आधारमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच तीव्र बनाएका छन् ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताए ।

उनले सुरक्षाको कारण देखाएर प्रशासनले पूर्वराजालाई नागरिकसँग घुलमिल हुन रोक लगाएको आरोप लगाएको गुनासो गरे ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारी हर्कतको विरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौंमा जनआवाजलाई हत्केलाले थुनेर दबाउन खोज्नेहरुले इनरुवामा हुने राजाको जनअभिनन्दनका ब्यानर हटाउने आदेश दिएछन् १ फेरि भन्छौं- कसैलाई निषेध नगर, शासकीय अहंकार बन्द गर ।’

बिज्ञापन