राष्ट्रिय समाचार

सहज बन्दै राहदानी विभागको सेवा

बिज्ञापन

काठमाडौँ, चैत्र २३ गते । केही महिना अघिसम्म व्यापक भिडभाड देखिने राहदानी विभागमा अहिले भने चहलपहल कम देखिएको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो । 

बिज्ञापन

केही महिना अघिसम्म सेवाग्राही रातिदेखि नै राहदानी लिनका लागि भीड बस्ने गरेकोमा अहिले भने त्यो अवस्था छैन । फारम भरेपछि राहदानी विभागले तोकेको मितिमा नै विभागमा आउँदा राहदानी पाउने व्यवस्था छ । राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाका अनुसार गत माघ १६ गतेबाट राहदानी सङ्कलनको मोडिलाटी नै परिवर्तन गरेपछि सेवाग्राहीको चाप घटेको हो । 

उहाँले भन्नुभयो, “पहिले  तीन दिनको लागि मात्र राहदानीको फारम सङ्कलन गर्ने गरेका थियौँ । माघ १६ गतेबाट एक महिनासम्म बुकिङ खुला गर्‍यौँ । त्यस कारण पनि चाप कम भएको हो ।”  राहदानी लिनेको भिडभाडको अध्ययन गर्न गठन गरेको टोलीले राहदानी वितरण सबै जिल्लाबाट गर्न सुरु गरे भिडभाड कम हुने सुझाएको थियो ।  

राहदानी लिनेको लाइन बढी रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गरेर समाधानको प्रयास गरेको थियो । पहिले धेरै सेवाग्राही फारम भर्न नपाएको भन्दै गुनासो गर्न आउने गरेका कारण पनि मोडिलाटी नै परिवर्तन गरिएको उहाँको भनाइ छ । 

प्रवक्ता सापकोटाले भन्नुभयो, “तीन दिनको मात्र कोटा खोल्दा सेवाग्राहीले फारम भर्न नपाएको भन्दै धेरै गुनासो गर्न आए त्यस कारण पनि एक महिनासम्मको लागि बुकिङ खुला गरेर सेवाग्राहीको चाप हेरौँ भन्ने सोचिएको हो । 

जिल्ला प्रशासन कार्यालयले पनि एक महिनाका लागि बुकिङ खुला गरेपछि केन्द्रको भीड सबै जिल्ला जिल्लामा बाँडिएको उहाँ बताउनुहुन्छ ।फारम भरेर आफ्नो भिजिट डेटमा मात्रै  सेवाग्राही विभागमा आउने गरेकाले पनि भिडभाड कम भएको उहाँको भनाइ छ । 

सापकोटाका अनुसार अहिले ७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय  र ३८ व टा विदेशस्थित कूटनीतिक नियोगबाट विद्युतीय राहदानी वितरण भइरहेको छ । अहिले राहदानी विभागबाट दैनिक झन्डै छ हजार राहदानी छपाई भइरहेको छ । यस्तै प्रत्येक दिन झन्डै एक हजार पाँच सय राहदानी विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।

तत्काल आवश्यक नभएको र भविष्यमा राहदानी आवश्यक पर्छ भन्ने लागेको भए जिल्लाबाट नै फारम भरेर आफ्नो निर्धारित मितिमा नै विभागमा आउन सकिने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “तत्काल कसैलाई बाहिर जानुपर्ने भयो भने फारम भरेर कारण सहितको डकुमेन्ट लिएर विभागमा आउनुभयो भने सहजीकरण गर्छौ तर आवश्यक छैन र भविष्यको लागि भए जिल्लाबाट नै फारम भरेर तोकिएको समयमा नै लिन सक्नुहुन्छ ।”

बिज्ञापन