राष्ट्रिय समाचार

हुम्ला–बाजुरा खण्ड सुचारु

बिज्ञापन

हुम्ला, चैत २५ गते । कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको अवरुद्ध सडक सुचारु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ को धुला चौर नजिकको साका चौरको भीरमा बिच सडकमा बिग्रिएको जेसिवी मेशिन मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको हो । 

बिज्ञापन

अदानचुली गाउँपालिका–१ का वडा सदस्य कर्ण महताराले बाजुराको धुला चौर नजिकको साका भीरमा जेसिवी मेशिन सडकमै चल्दै गरेको अवस्थामा इन्जिनमा खराबी आएर सञ्चालन हुन नसकेपछि पाँच दिनदेखि हुम्ला र बाजुरा खण्डको अवरुद्ध भएको सडक सुचारु  भएको बताउनुभयो । 

नयाँ मेसिन बाजुराबाट हुम्लाको ताँजाकोट गाउँपालिकातर्फ जाँदै गरेको अवस्थामा एक्कासि मेसिनले काम नगरेपछि सडक अवरुद्ध भएको थियो । सडकको मध्य भागमा मेशिन बिग्रिएपछि सो खण्डमा मोटरसाइकल समेत सञ्चालनमा आउन नसकेको बताउँदै मेसिन चालक भरत पाण्डेले मेसिनको बिग्रिएको पार्ट काठमाडौँबाट ल्याएर मर्मत गरिएपछि सडक सुचारु भएको बताउनुभयो । उहाँले मेसिनको पार्ट काठमाडौँबाट ल्याउन समय लागेको कारण सडक सुचारु गर्न ढिलाइ भएको बताउनुभयो । 

मेसिन बिग्रिएपछि नेपालगन्ज, सुर्खेत, कालिकोट र बाजुराबाट हुम्ला आउने  मालवाहक गाडीमा आएको सामानहरू धुला चौरमा रोकिने गरेका थिए भने यात्रु पैदल मार्ग हिँडेर बाँदुसम्म जानु पर्ने अवस्था रहेको थियो । दैनिक हुम्लाको ताँजाकोट, अदानचुली र सलिसल्लाबाट आउने बिस भन्दा साना ठुला गाडी बाजुराकै बाँदुसम्म आएर फर्कने गरेका थिए । यात्रुहरूले पनि बाँदुबाट धुला चौरसम्म पैदल हिँडेर जानु परि रहेको थियो । हुम्लाका यात्रु बाँदुबाट सामान बोकेर धुला चौरसम्म हिँड्नु पर्ने र त्यताबाट बाजुरा, सुर्खेत र नेपालगन्ज जानु पर्ने अवस्था रहेको थियो । यसले गर्दा पैदल यात्रुहरुको खर्चमा समेत वृद्धि हुने गरेको थियो । सडक सुचारु भएपछि यात्रुहरुलाई सहज भएको छ भने यातायातका साधन सहज रूपमा सञ्चालन भई रहेका छन् ।

बिज्ञापन