राजनीति

रास्वपालाई ‘जसरी पनि’ सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, रविले दिएनन् ग्रीन सिग्नल

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो प्रस्ताव गरेका हुन् ।

बिज्ञापन

स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई स्वीकार नगरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनसक्ने बताए।’

‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने ।

भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डा अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ ? ’ उनले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । स्राेतका अनुसार भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

भेटमा प्रधानमन्त्रीले उपचुनावमा भारी मतका साथ विजयी भएकोमा लामिछानेलाई बधार्ई दिएका थिए । उनले सबै दलहरु मिलेर देशको संकट निवारण गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

बिज्ञापन