टीकापुर

विभिन्न अपराधमा संलग्न ८५ जना टीकापुर प्रहरीबाट पक्राउ

बिज्ञापन

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुर कैलालीले तीन महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा ८५ जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

तीन महिनाको अवधिमा लागुऔषधसम्बन्धी कसुरमा ३० जना, सार्वजनिक हित विरुद्धको घटनामा संलग्न रहेको आरोपमा १३ जना, बैंकिङ कसुरमा १ जना, मुद्रासम्बन्धी कसुरमा २ जना, सवारी ज्यानसम्बन्धी कसुरमा ३ जना, चोरीसम्बन्धी कसुरमा ७ जना, जुवासम्बन्धी कसुरमा २० जना, ठगी कसुरमा ८ र गर्भपतनसम्बन्धी कसुरमा १ गरी ८५ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरले उपलब्ध गराएको तथ्याङ्कअनुसार फैसला कार्यान्वयनको सिलसिलामा ३ जना फरारसहित ९ जना प्रतिवादी पक्राउ परेका छन् ।

लागुऔषधसम्बन्धी कसुरमा ३० जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले यस क्रममा खैरो हेरोईन ४८ ग्राम ६२० मिलिग्राम, चरेश २१ ग्राम ६ सय मिलिग्राम, र गाँजा १२० ग्राम बरामद गरेको छ ।

त्यसैगरी, ग्लोबल ओरियन्स नेपाल प्रा.लि.को नामबाट ठगी गर्नेहरुसमेत पक्राउ परेका छन् । ग्लोबल ओरियन्सको नाममा ठगी गर्दै आएका डेकेन्द्रबहादुर बि.क., लालबिर चौधरी लगायत ८ जना पक्राउ परेका छन् ।

त्यसैगरी, नक्कली नोटको कारोबारमा संलग्न तपेन्द्र बहादुर शाहीलाई १७ थान नक्कली नोटसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जुवातास खेल्ने २० जनालाई पक्राउ गरेको छ । जुवाडेहरुबाट नगद १ लाख ६३ हजार ६२५ रुपैयाँ समेत बरामद गरेको छ ।

तीन महिनाको अवधिमा इप्रका टीकापुरले १ हजार २३५ लिटर घरेलु मदिरा बरामद गर्नुका साथै अवैध भन्सार छली, चोरी, निकासी नियन्त्रणका क्रममा ५ लाख ३६ हजार ६६५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरलाई नेतृत्व गरिरहेका डीएसपी उद्धवसिंह भाट्टले प्राकृतिक स्रोतसाधनको अवैध दोहन नियन्त्रण र गुण्डागर्दी नियन्त्रणका सन्दर्भमा समेत आफ्नो नेतृत्वमा छोटो अवधिमै उल्लेख्य काम भएको दाबी गरेका छन् ।

बिज्ञापन