घटना समाचार

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी, प्रहरीले थाल्यो अनुसन्धान

बिज्ञापन

जनकपुरधाम । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।

बिज्ञापन

रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खाताबाटै रकम चोरी भएको थाहा पाए ।

यादवले बिहीबार मात्रै नेपाल बैंक लिमिटेडको तीन वटा चेक (१२ लाख २० हजार रुपैयाँ) आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिएका थिए । खातामा रकम जम्मा भएको सन्देश पनि उनको मोबाइलमा गएको थियो ।

तर आइतबार ८ लाख रुपैयाँ खाताबाट झिक्न चन्द्रपुर शाखामा पुगेपछि कर्मचारीको कुरा सुनेर उनी मुर्छित बने । कर्मचारीले उनलाई खातामा मात्र ३ लाख २० हजार रुपैयाँ रहेको बताएका थिए । त्यसपछि उनी सोधखोज गर्न थाले ।

सेवाग्राही यादवले जम्मा गरेको रकम खातामा नरहेको थाहा पाएपछि तत्कालै शाखा प्रबन्धक रामजी दासलाई भेटे । तर शाखा प्रबन्धक दासले रकम कसरी चोरी भएको विषयमा केहि बताउन चाहेनन् ।

शाखा प्रबन्धक दासले ह्याकरले रुपैयाँ लगेको हुनसक्ने र यो विषयमा आफैँ सोधखोज गर्नु भनेर गैर जिम्मेवार जवाफ दिएको सेवाग्राही यादवले बताए ।

बैंक स्टेटमेन्ट समेत दिन मानेपछि सेवाग्राही यादव र उनका आफन्तले चन्द्रपुर शाखामा होहल्ला गरेका थिए । खाताबाट रकम चोरी हुनुमा बैंकका कर्मचारीकै मिलेमतो रहेको भन्दै उनीहरू आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म बैंक घेराउ समेत गरेको थियो ।

पीडित सेवाग्राहीले न्यायका लागि प्रहरी गुहारेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी एकनारायण कोइरालाले बैंकबाट रकम चोरी भएको विषयमा अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अनुसन्धानबाट सबै कुरा खुल्छ । संलग्न सबैमाथि कारबाही हुन्छ ।’

शाखा प्रबन्धक दासले सेवाग्राही यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी सिटिजन बैंक र सानिमा बैंकमा रकम ट्रान्सफर गरेको देखिएको जानकारी प्रहरीलाई दिएको बुझिएको छ ।

रकम चोरी भएको माछापुच्छ्रे बैंक उद्योगपति डा. उपेन्द्र महतो र जनता समाजवादी पार्टी (जसपा)का सांसद विरेन्द्र महतो दाजुभाइको हो ।

सांसदबाट निर्वाचित भएपछि विरेन्द्रले बैंकको सञ्चालक समितिको अध्यक्षबाट राजीनामा दिएका थिए । अहिले उनकै दाइ उद्योगपति डा। उपेन्द्र बैंकको सञ्चालक समितिका अध्यक्ष छन् ।

बिज्ञापन