घटना समाचार

मेयरका उम्मेदवारको गाडीमा आगजनी, प्रचारमा हिँड्ने एक जना पक्राउ

बिज्ञापन

मोरङ । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको गाडीमा आगजनी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गाडी आगजनी गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे ’बाघे’ लाई प्रहरीले शुक्रवार बिहान पक्राउ गरेको हो ।

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहान आगजनी गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर पदमा उम्मेदवारी दिएका उनी होटल व्यवसायी पनि हुन् ।
प्रहरीका अनुसार बिहान २ बजेतिर घटनाको जानकारी आएको थियो ।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरेको हो ।

प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनावी अभियानमा हिँड्ने युवा हुन् ।

पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ ।

फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो ।

मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवार पार्वती पौडेली (विक) को फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

मेयरका उम्मेदवार गौतमले घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको बताए ।

उनका अनुसार आगजनीबाट अगाडि र पछाडिको केही भागमा क्षति पुगेको छ ।

गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरू र प्रतिस्पर्धामा आउन नसक्नेहरूले सुनियोजित तरिकाले घटना गराएको बताए ।

बिज्ञापन