राष्ट्रिय समाचार

नेपालीलाई भारतीय नागरिकसरह स्वास्थ्य सेवा दिन आग्रह

बिज्ञापन

धनुषा, असार २ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यसम्बन्धी सेवा लिन भारत जाने नेपाली नागरिकलाई भारतीय नागरिकजस्तै स्वास्थ्यसम्बन्धी सेवामा सुविधा दिने वातावरण बनाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । 

बिज्ञापन

इन्डो नेपाल डाक्टर फोरमले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले मधेश प्रदेशको सीमा क्षेत्रका बासिन्दाहरु अझै पनि स्वास्थ्यसम्बन्धी विभिन्न रोगको उपचारका लागि भारतको विभिन्न स्थानमा जाने गरेको र त्यहाँ विभिन्न किसिमका समस्याहरु भोग्नुपरेको भन्दै मन्त्री सिंहले सो आग्रह गर्नुभएको हो । 

नेपाल र भारतवीच भएको १९५० को सन्धीबमोजिम स्वास्थ्य सेवामा सुविधा दिन भारत सरकारलाई आग्रह गर्नुभयो । मन्त्री सिंहले भारतमा मोदी सरकारले स्वास्थ्य उपचार गर्न भारतीय नागरिकका लागि ल्याएको आयुसमान भारतको सुविधा नेपाली नागरिकलाई पनि दिनुपर्ने र त्यसका लागि मधेश प्रदेश सरकार र नेपाल सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । 

मधेश प्रदेशको ग्रामीण क्षेत्रमा स्वास्थ्यसम्बन्धी जटिल किसिमका रोगको उपचार गर्न विभिन्नखालका समस्याहरु हुने गरेका कारण भारत सरकारले नेपालमा पनि दिल्लीमा सञ्चालित गरेको एम्स अस्पतालजस्तै अस्पताल सञ्चालनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल–भारतबीच बेटी रोटीको सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री सिंहले यस सम्बन्धलाई थप बलियाे गर्दै अघि बढनुपर्ने बताउनुभयो ।  

कार्यक्रममा भारत बिहार राज्यका पूर्व नगर बिकासमन्त्री सुरेशकुमार शर्माले भारत नेपाली नागरिकको भलो चाहेको भन्दै आयुसमान भारतको सुविधा नेपाली नागरिकलाई दिन आफुले भारत सरकारसँग पहल गर्ने बताउनुभयो । उहाँले दुवै देशका नागरिकबीच बेटी रोटीको सम्बन्ध रहेको कारण हामी एक अर्काको सुखदुःखमा सहभागी हुनेगरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सदैव नेपाल र नेपालीको भलो चाहेको बताउनुभयो । 

मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुरले मधेश प्रदेशको भूगोलजस्तो धेरैजसो ठाउँमा नभएको भन्दै स्वास्थ्य सेवा विस्तारका लागि यो प्रदेश उपयुक्त भएको बताउनुभयो ।

इन्डो नेपाल डाक्टर फोरमका उपाध्यक्ष डा. पुरुषोतम ठाकुरले दुवै देशका चिकित्सकवीच संस्थाले सम्बन्ध स्थापना गरेको भन्दै दुवै देशका नागरिकलाई एक अर्काको देशमा स्वास्थ्य सेवामा सहज पहुँच र सुविधाका लागि फोरमले काम गरिरहेको बताउनुभयो । 

कार्यक्रममा भारतको प्रतिनिधित्व गर्नुभएका इन्डो नेपाल डाक्टर फोरमका अध्यक्ष एवम बरिष्ठ चिकित्सक डा. नवलकिशोर सिंहले नेपाल–भारतको स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा जानकारी गराउँदै भारतमा स्वास्थ्य सेवा लिन जाने नेपालीलाई भारतीय नागरिकसरह नै स्वास्थ्य सेवामा सुविधा दिन आफुहरु भारतीय सरकारसँग आग्रह गरिसकेका बताउनुभयो । 

बिज्ञापन