राष्ट्रिय समाचार

सबै विषय पढेकाले शिक्षक लाइसेन्स पाउने

बिज्ञापन

काठमाडौं, असार ५ गते । सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को  परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ । 

बिज्ञापन

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री प्रकाशसरण महतले भन्नुभयो, अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गरेको व्यक्ति सम्मिलित हुन पाउने व्यवस्था मिलाइनेछ । 

सरकारले घोषणा गरेसँगै कहिलेबाट परीक्षा दिन पाइन्छ भन्ने आम चासो रहको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार कानुन संशोधन नभएसम्म तत्काल कार्यान्वयन हुन समस्या रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, सरकारले आगामी आर्थिक वर्षबाट यसको व्यवस्था हुने बजेट भाषणमा बताएको छ । तर शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि मात्र कार्यान्वयन गर्न सकिन्छ । उहाँका अनुसार शिक्षक सेवा आयोगले साउन महिनामा विज्ञापन प्रकाशन गर्ने योजना रहेकाले साउन महिनामै शिक्षा नियमावली संशोधन गरे तत्काल नै कार्यान्वयनमा आउन सक्नेछ । 

यस्तै शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले मौजुदा कानुन अनुसार जुनसुकै विषय पढेकालाई लाइसेन्स परीक्षा दिलाउन नसकिने बताउनुभयो । केही विषयहरूमा ऐनले नै लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरेपछि सबैको हकमा भने अहिले लागु गर्न नसकिने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, हालको मौजुदा कानुन अनुसार जुनसुकै विषय पढेकालाई लाइसेन्स परीक्षा दिलाउन सकिँदैन । विधानतः गणित,विज्ञान,इलेकट्रोनिक इन्जिनियरिङ, लेखा पढेकालाई परीक्षा दिलाउन सकिने व्यवस्था रहेपनि सबै विषयको हकमा भने शिक्षक सेवा आयोग नियमावली नै संशोधन गर्नुपर्ने हुन्छ । 

यतिबेला शिक्षा शास्त्र सङ्काय पढेकाले मात्र परीक्षा दिन पाउने हुँदा क्षमता भएका व्यक्तिहरू पछाडि पर्ने भएकाले क्षमता भएका व्यक्तिहरूलाई अवसरहरू प्रदान गर्नका लागि यो व्यवस्था ल्याइएको हुनसक्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, अहिले शिक्षा शास्त्र पढेकाले मात्र परीक्षा दिँदा धेरै उत्तीर्ण नै हुन नसकेको अवस्था पनि रहेको छ । त्यसकारण क्षमता भएका व्यक्तिहरूलाई अघि ल्याउनका लागि यसको व्यवस्था गरिएको हो ।

उहाँका अनुसार शिक्षा शास्त्र पढेका व्यक्तिहरू कन्टेन्ट र पेडागोजीमा बढी पोख्त हुने भएकाले अन्य जुनसुकै विषय पढेकालाई पनि १० महिनाको अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

बिज्ञापन