टीकापुर

कैलालीको कान्द्रा नदीमा १२ वर्षमा बन्यो पुल

बिज्ञापन

धनगढीः कैलालीको कान्द्रा नदीमा निर्माण सुरु भएको १२ वर्षमा पुल बनेको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ थेकीपुरस्थित कान्द्रा नदीमा पक्की पुल निर्माणको काम १२ वर्षमा पूरा भएको हो। 

बिज्ञापन

कान्द्रा नदीमा पक्की पुल निर्माणका लागि २०६८ जेठ २१ गते सम्झौता भएको थियो। २०८० को असारमा पुल निर्माणको काम पूरा भएको हो। अझै पक्की पुलसम्म जाने सडक निर्माणको काम बाँकी छ। कान्द्रा नदीको पुल अधुरै छोडेर निर्माण कम्पनी बेपत्ता हुँदै आएको थियो। एक सय मिटरको उक्त पुल निर्माणका लागि १२ वर्ष लागेको हो। पटक–पटक पुल निर्माणको समय थप हुँदै आएको भएपनि साल्पा/शेर्पा–लामा–विरुवा जेभीले काम गर्न सकिरहेको थिएन्। हुलाकी सडक योजना कार्यालयले निर्माण कम्पनीलाई पटक–पटक पुलको काम गर्न आग्रह गर्दै आएका भएपनि काम अधुरो रहेको थियो। असार भित्र पुलसम्म जाने सडकको समेत काम पूरा हुने भएकाले बर्खामा समस्या नहुने हुलाकी राजमार्ग कार्यालयले बताएको छ। हुलाकी सडक योजना कार्यालय, धनगढीका सूचना अधिकारी दीपक सुनारले असार भित्र सबै काम पूरा हुने बताए। उनले पुलको बाक सकिएको बताएका छन्। 

पटक–पटक म्याद थप र ताकेता गर्दा पनि निर्माण कम्पनीले पुलको काम अलपत्र छोडेको भन्दै तीनवटै निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने र ठेक्का तोड्ने तयारीसम्म गरिएको थियो। चार करोड ४३ लाख रुपैयाँ साल्पा/शेर्पा–लामा–विरुवाले संयुक्त रुपमा ठेक्का पाएको थियो। तीन कम्पनीमध्ये लामा पहिल्यैदेखि कालोसूचीमा रहेको छ। आर्थिक संकटका कारण विरुवाले काम गर्न सकेन्। 

२०६८ जेठमा ठेक्का भएको पुलको पहिलो निर्माण अवधि ३० महिना रहेको थियो। तर, डिजाइन परिवर्तन गर्नु पर्ने कारणले साढे चार वर्षसम्म काम भएन। २०७२ पुसमा डिजाइन परिवर्तन भएपछि काम सुरु गरिएको थियो। साढे दुई वर्षको पहिलो म्याद २०७५ असारमा सकिएको थियो। चौथो पटक थप भएको म्याद गत चैत मसान्तमा सकियो। पटक–पटक म्याद थप गरेर समेत पुल निर्माण भएपछि कैलालीको भजनी क्षेत्रका नागरिकलाई सहज भएको छ। उनीहरुले हुलाकी राजमार्ग हुँदै ओहोरदोहोर गर्न पाउने भएका हुन्।

बिज्ञापन