आस्था /आध्यात्म

रोल्पामा वृहत सत्संग सम्पन्न

बिज्ञापन

रोल्पा, १७ असार । रोल्पामा वृहत सत्संग सम्पन्न भएको छ । गत असार ८ गते रोल्पाको नेर्पाको सन्त निरंकारी सत्संग भवनमा आयोजित वृहत सत्संगलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले संसारमा आएर शिक्षा हासिल गरेर चाहे हामी जेपनि बनौ तर पहिले आफू मानव बनौं । हामीभित्र मानविताका गुणहरुले सु–सम्पन्न पारौं तब मात्र हाम्रो कल्याण हुने छ र मनुष्य योनि पाएको पनि सफल हुने छ । भौतिक शिक्षाको साथै आध्यात्मिक शिक्षाको आवश्यकता छ । जीवनलाई केवल आध्यात्मिक शिक्षाले मात्र डो¥याउन सक्छ, आध्यात्मिक शिक्षा बिना भौतिक शिक्षा पनि अपूरो हुन जान्छ । जसले सच्चा मानव बनेर भक्तको रुप धारण गर्दछ तब त्यसको पूजा संसारमा जहाँ पनि हुने गर्दछ । सत्गुरुको कृपाबाट आज हामी परिवारको एक सदस्य भएका छौ र सन्त रुपमा एकापसमा दर्शन, सेवा–सत्कार गर्न सकिरहेका छौ । भक्तको पूजा यहाँ पनि भइरहेको छ उहाँले बताउनु भयो ।

बिज्ञापन

आज भक्त हनुमानको पूजा धेरै ठाउँमा हुने गर्दछ । उनका धेरै मन्दिरहरु बनेका छन् । आखिर उनको पूजा गरिनुको एक मात्र कारण हो उनले आफूलाई भगवान रामको शरणमा समर्पित गरे । जब रामले आफ्ना सहयोगिहरुलाई भन्नुभयो कि तिमीहरुले माता सीताको खोजीमा ठुलो गुन लगाएका छौ म त्यसको ऋणि छु अब तिमीहरुले जे माग्छौ माग भन्दा बालीका छोरा अंगतले आफ्नो बाबुको जसले बध गरेको छ त्यसको बदला लिन पाउँ भनेर बर मागे । त्यस्तै अरु सहयोगीहरुले पनि आ–आफ्नो इच्छाको बर मागे, तर जब अन्तमा हनुमानको पालो आयो तब उनले भने हजूर स्वयं त्रिलोकको मालिक हुनुहुन्छ, अरु म के मागु । मलाई एउटै आशीर्वाद दिनुहोस कि मलाई हजूरको चरणकमलबाट कहिल्यै विछोड हुन नपरोस भन्दा भगवान रामले तटास्तु भन्दै भनेकि जाऊ तिम्रो संसारमा पूजा हुने छ, सबै ठाउँमा तिम्रा मन्दिर हुने छन् भनेर आशीर्वाद दिनुभयो । हुनुपनि हो, आज संसारमा जहाँ–जहाँ रामका मन्दिर छन्, त्यहाँ हनुमानका पनि मन्दिरहरु छन्, उनको पूजा गरिन्छ । रामको मन्दिरभन्दा पनि हनुमानका मन्दिरहरु धेरै छन् । यसरी जसले आफूलाई निःस्वार्थ रुपमा भगवानको शरणमा समर्पित गर्दछ त्यो नै सच्चा भक्त हुने गर्दछ, त्यसको मानव योनि पाएको सार्थक हुन जान्छ । यही ज्ञान आज सत्गुरु माता जीले मानवको कल्यार्थ संसारलाई दिराख्नु भएको बताउनु भयो ।

निरंकार सर्वत्र ठाउँमा छ । यो नभएको कुनै ठाउँ छैन । सबैमा निराकार समायको छ । यसैले सम्पूर्ण मानव प्राणि एउटै परमपिता–परमात्माका अंश हुन र संसारमा छरिएर रहेका सबै मानवहरु हाम्रै परिवारका सदस्य हुन, यिनीहरुसंग कुनै भेदभाव नगरेर सबैमा प्रभुको नै अंश देखेर यिनीहरुसंग प्रेम–सत्कार गरौं, कहिल्यै झैझगडा, विरोधको भाव हामीमा हावि नहोस । सबैसंग नम्र व्यवहार गरेर मधुर बोली बोलेर सबैको ह्दयलाई जित्न सकौं, उहाँले बताउनु भयो । सत्संग बिना विवेक हुँदैन, सत्संग र हरिकथा निकै ठुलो भाग्यले पाईन्छ । आज सत्गुरुको कृपाले हामीलाई घरमै बसेर सत्संगको आनन्द उठाउने मौका मिलिरहेको छ । यस मौकालाई त्यसै खेरनफालेर नित्य दिन सत्संग गर्दै सेवा, सत्संग, सुमिण गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

त्यसैदिन नव विवाहित बर–बधुलाई आशीर्वाद तथा शुभकामना दिने कार्यक्रम पनि रहेकोले उक्त अवसरमा उहाँले सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य दल बहादुर रानाका माईला छोरा विवाह बन्धनमा बाँधिएको अवसरमा नव वर–वधु विश्व राना र सुनिता ओलीलाई आशीर्वाद दिदै भन्नुभयो कि विवाहित जोडिले एक सच्चा छोरा–बुहारीको दायित्वलाई निभाएर आमा–बाबु तथा सासु–ससुरासंग राम्रो व्यवहार गर्न सकुन । आएका सन्त–भक्तहरुको सेवा–सत्कार गर्न सकुन, कहिल्यै सासु–सुसुरामाथि कुनै प्रकारको विभेद नगरेर एक कर्तव्यनिष्ठ छोरा–बुहारीको उदाहरण बनेर समाजलाई देखाउन सकुन भनेर शुभकामना दिनुभयो । उहाँले एउटा उदाहरण दिदै भन्नुभयो कि संसारमा हेर्ने होभने आजकलका छोरा–बुहारीको आमा–वुवा तथा सासु–ससुरामाथि गरिने व्यवहारलाई हेर्दा विचित्र लागेर आउने गर्दछ । कुनै छोराले शहरमा घर बनाउँछ, आमा छोराको घरमा जान्छिन् तर छोराले आफ्ना आमाको लागि एउटा कोठा समेत बनाउन बिसंन्छ । केवल आफ्नो लागि मात्र कोठा बनाएको हुन्छ । त्यस्तै कुनै छोराले घरमा कुकुर पालेको हुन्छ, त्यसले बजारबाट कुकुरको लागि एक किलो मासु लिएर आउँछ तर आफ्ना आमा–बुवाको लागि मासु ल्याउन नै बिर्सिन्छ आदि जस्ता उदाहरणहरु आज समाजमा थुप्रै पाईन्छन् । अतः यस्ता खालका कुनैपनि प्रकारका व्यवहार नगरेर नव दुलाहा–दुलहीले जहिले आफ्नो घर–परिवारलाई खुशी राखेर सत्गुरु माता जीको भरपूर आशीर्वाद लिएर विवाहित दाम्पत्य जीवन बिताउन सकुन भनि नव विवाहित बर–बधुलाई बधाई तथा शुभकामना दिनुभयो । विवाहमा वर–वधुलाई आशीर्वाद दिन टाढा–टाढाबाट सन्त–भक्तहरुको सहभागिता रहेको थियो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सदस्य दल बहादुर राना, पूर्व केन्द्रीय सदस्य मेघराज के.सी., त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणि दाङ्गी, सल्यान कालिमाटी सत्संग भवनका इंजार्च रामसिंह खासु, गायक तेज बहादुर बोहरा, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल, दिन बहादुर जि.सी., हर्क बहादुर पुन, लिला रोकाया, पुष्पा दाङ्गी, ऋषिराम पुन, महेश्वर घर्ती, तेज बहादुर दाङ्गी, पूर्ण बहादुर ओली लगाएतका सन्तहरुले आ–आफ्नो भाव प्रकट गर्दै नव विवाहित बर–बधुलाई बधाई तथा शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन