आस्था /आध्यात्म

सन्त निरंकारी सत्संग भवन सल्यानको उद्घाटन

बिज्ञापन

सल्यान, ९ असार । सन्त निरंकारी सत्संग भवन सल्यानको उद्घाटन गरिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं ३, सिगारिकोटमा नव निर्माण सत्संग भवनको उद्घाटन गत असार ९ गते छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओझ बहादुर बुढाथोकी तथा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलको संयुक्त करकमलबाट भवनको उद्घाटन गरिएको थियो ।

बिज्ञापन

सत्संग भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि ओझ बहादुर रानाले सन्त निरंकारी मिशनले संसारमा मानवताको भलाईको कार्य गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो । ईश्वर एक छन्, नाम अनेकौं छन् । हामी ईश्वरलाई विभिन्न नामले पुकार्ने गर्दछौ । लक्ष्य एउटै छ, बाटा अनेकौ छन् । मानव भएर हामीले मन, वचन र कर्मले सत्यको बाटोलाई अंगाल्नु पर्दछ । सबैको भलो चिताउँदै अनुशासित रुपमा जीवन बिताउनु पर्ने बताउनुभयो ।

उहाँले कुनै हिंसा, आपसी वैरविरोध नगरेर मानवीय भावनाले ओत–प्रोत भएर एक–अर्काको सहयोगी बनेर हामी भित्रैबाट त्यस्तो किसिमको वातावरणलाई फैलाउन सक्यौं भने पक्कै पनि समाजमा सद्भाव कायम हुनुको साथै एक–अर्काप्रति सम्मान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर आध्यात्मिक विचारधारा बोकेको संस्था भएकोले यसले जुन एकत्वको ज्योतिलाई संसारमा फैलाई रहेको छ त्यो प्रशंसनिय योग्य रहेको धारणा व्यक्त गर्नुभयो ।

कुनै एउटा सानो कार्यक्रम गर्दापनि एक–अपासमा कुरा गर्ने, हल्ला गर्ने, यता–उता छरिएर बस्ने गरेको देखिन्छ तर सन्त निरंकारी मिशनद्वारा आयोजित कुनैपनि कार्यक्रमा कति धेरै अनुशासन देख्न पाईन्छ, एकापसमा मिलेर बसेको देख्न पाईन्छ । अलिकतापनि कतै हल्ला सुन्निन, सबै जना एकापसमा आदर–सत्कारले नमस्कार गरेको देखिन्छ, मिठो बोलीले एक–अर्कालाई सम्बोधन गरिरहेको देखिन्छ आदि जस्ता कार्यहरु यदि हामी समाजका अरु ठाउँमा पनि लागु गर्न सक्यौं भने पक्कैपनि समाज रुपान्तरण गर्नुमा कुनै ढिलो नहोला, उहाँले बताउनु भयो । साथै उहाँले आफूबाट सन्त निरंकारी सत्संग भवन सिगारीकोटका अधूँरा कार्यहरुलाई जतिसक्दो पूरा गर्ने वचनबद्ध गर्नुभयो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो । परमात्मा एक छ, एक भएर सृष्टिलाई चलाई रहेको छ । परमात्माले नै पूर्ण ब्रम्हाण्डको रचना गरेको हो । प्रकृतिलाई ईश्वरको स्वरुप मानेर पूजा गरिरहेका थियौं तर आज सत्गुरुको कृपा हुँदा साक्षात्कार निराकारको दर्शन गर्ने सु–अवसर प्राप्त भयो । सत्गुरुको कृपाबाट नै यस निराकारलाई जान्न सकिन्छ । आत्मा परमात्माको अंश हो । निरंकारी मिशन धर्म किन होइनभन्दा यसमा सबै धर्मका मान्छेहरुको सहभागिता रहेको छ । त्यस्तै प्रकार सम्प्रदाय होइन किनभने यसमा सबै जातिका मान्छेहरुको सहभागिता रहेको छ । निरंकारी मिशनले कसैको धर्म होइन, भावनालाई परिवर्तन गर्न प्रेरित गर्दछ । निरंकारी मिशनले श्रंगार होइन, श्रृंगार गर्न सिकाउँछ । अपकार होइन, उपकार गरौं । मानव बनेर यस संसारमा बस्नु छ । हामी सबै एक ईश्वरका सन्तान हौ । मानव, मानवको प्रिय बनेर एकापसमा सहयोगि बनेर बस्नु छ । मिशनले धर्मलाई जोड्छ, तोड्दैन भन्दै उहाँले मिशनको उद्देश्य र यसका कार्यमाथि प्रकाश पार्नु भएको थियो ।

उहाँले अहिलेसम्म संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट २०७७÷२०७८, २०७८÷२०७९ आर्थिक वर्षमा ८ करोड १२ लाख ३ सय ७९ रुपैयाँ बराबरको सहयोग भएको बताउनु भयो । यस्तै प्रकारबाट अगामी दिनहरुमा यस गाउँपालिकाले सहयोग गर्ने आशा व्यक्त गर्नुभयो ।

त्यस्तै सन्त निरंकारी मण्डल नेपालका केन्द्रय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमालले आफ्नो स्वागत मन्तव्य दिने क्रममा सल्यानको विकट ठाउँमा पनि चिटिक्क परेको राम्रो सन्त निरंकारी सत्संग भवन र भवनसम्म पुग्न पक्की बाटो छत्रेश्वरी गाउँपालिकाले बनाई दिएकोमा गाउँपालिका सम्पूर्ण टीमलाई धन्यवाद दिनुभयो । उहाँले सन्त निरंकारी मिशनको उद्देश्य र यसका अवधारणाहरुलाई प्रष्ट पार्नु भएको थियो ।

यसरी नै छत्रश्वरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुप्रसाद योगीले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक विशुद्ध आध्यात्मिक विचारधारा भएको थाह पाउँदा निकै खुशी लागेको बताउनु भयो । उहाँले मिशनले मानवताको लागि सधैं राम्रा पक्षहरुलाई अगाडि बढीरहेकोले प्रशंसा व्यक्त गर्नुभयो । हामीले ईश्वरप्रति आस्था राख्दै सबै मानव एउटै परमात्माका अंश भएकोले हामी सबैले एकापसमा सद्भावको वातावरणलाई सिर्जना गर्नु पर्छ भन्ने जुन मिशनको सिद्धान्त रहेको छ यस कार्यप्रति आफू निकै प्रभावित भएको बताउनु भयो ।

उद्घाटन कार्यक्रम सिगारिकोट सन्त निरंकारी सत्संग भवन इंचार्ज रुपलाल गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा उनले भवन उद्घाटमा विभिन्न ठाउँबाट सहभागि भइदिनुभएकोमा कृतज्ञा व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुढ कुमारी के.सी., सल्यान जिल्लाका रेडक्रम अध्यक्ष हिमाल यात्री, समाज सेवी ज्ञान बहादुर खड्का, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य दल बहादुर राना, सन्त निरंकारी सत्संग भवन तुल्सीपुर दाङ्गकी मुखी सारदा जि.सी.को उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन