अर्थ

पेट्रोलियमको मूल्य घट्दा आयल निगमलाई राहत

बिज्ञापन

काठमाडौँ, असार १८ गते ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन  (आइओसी) लाई तेल खरिद गरेबापतको बक्यौता २४ अर्ब रकम चुक्ता गरेको छ ।

बिज्ञापन

रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र दरले वृद्धि हुन थालेपछि निगम पुस २०७७ देखि नोक्सानीमा जान थालेको थियो। अहिले दुई वर्षको बक्यौता रकम निगमले एक वर्षमै चुक्ता गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा घटेको दरमा नेपाली बजारमा मूल्य नघटाएर चर्को नाफा राखेको थियो। कच्चा तेलको मूल्य घटे पनि ‘तेल किन्दा लागेको ऋण तेल बेचेरै तिर्ने’ भन्दै निगमले बक्यौता र ऋण तिर्न उच्च नाफा राखेर उपभोक्ता मूल्य भने न्यून मात्र घटाएको थियो ।  

यसबाहेक गत भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले आइओसीको ऋण तिर्न सफल भएको हो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखमा तेल खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ। निगम प्रवक्ता मनोजकुमार ठाकुरले एक वर्षमा आइओसीको २४ अर्ब रुपियाँ चुक्ता भएको जानकारी दिनुभयो ।  

आगामी जुलाई ८ मा ब्याजबापतको १८ करोड रुपियाँ बुझाएपछि आइओसीको सबै ऋण चुक्ता हुने उहाँले जानकारी दिनुभयो । निगमले आइओसीलाई ७.१ प्रतिशत ब्याजबापत एक वर्षमा ७० करोड रुपियाँ बुझाएको छ । नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटबापत फिर्ता आएको साढे तीन अर्ब रुपियाँ जोडेर निगमले ऋण तिरेको हो ।  

निगमले गत वर्ष असारमा साउनमा मूल्य बढ्दै गएपछि निगमले तेल खरिद गर्नकै लागि राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । राष्ट्रिय वाणिज्य बैङ्कको साढे तीन अर्ब रुपियाँ तिरिसकेको जनाएको छ । मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब रुपियाँ र भ्याटबापतको साढे तीन अर्ब रुपियाँसमेत आइओसीलाई तिरेको ठाकुरले जानकारी दिनुभयो । 

पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ३१ प्रतिशतले घटेको छ । गत वर्ष यही समयमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १०७ डलर रहेकामा हाल घटेर कच्चा तेल प्रतिब्यारेल ७५.४१ डलरमा झरेको छ । 

निगमले आइओसीको ऋण तिरे पनि नेपाल सरकारको सात अर्ब रुपियाँ ऋण तिर्न भने बाँकी छ । सो ऋण पाँच वर्षका लागि लिइएको हो । सम्झौता अनुसार ७० करोडका दरले १० किस्तामा ऋण भुक्तानी गर्नुपर्छ । वर्षमा दुई किस्ताका दरले तिर्दै जानुपर्ने निगमले जनाएको छ । पहिलो किस्ता तिरिसकेको र दोस्रो किस्ताबापत ७० करोड असार महिनाभित्रै तिर्ने निगमले जनाएको छ । 

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्कलगायत अन्य खर्च जोडेर आइओसीले नेपालको लागि मूल्य तय गर्छ । 

निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सारलगायतका महसुल, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मटितेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेल/मटितेल १५५ र खाना पकाउने एलपी ग्यास एक हजार आठ सय रुपियाँ प्रतिसिलिन्डर रहेको छ ।

नयाँ मूल्य सूची प्राप्त

यसैबिच आइतबार भारतबाट पेट्रोल र ग्यासको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्य घटेर आएको हो तर डिजेलको मूल्य भने केही बढेर आएको छ ।

निगमका अनुसार डिजल प्रतिलिटर दुई रुपियाँ १६ पैसा बढेर आएको छ भने मटितेलमा पाँच पैसा र हवाई इन्धनमा ५७ पैसा मूल्य बढेर आएको छ । पेट्रोलको मूल्य भने सात पैसा र एलपी ग्यास १६० रुपियाँले घटेर आएको छ । निगमलाई एलपी ग्यासमा यसअघि १६० रुपियाँ घाटा थियो । आइओसीले पठाएको नयाँ मूल्य सूचीले एलपी ग्यासमा भने घाटा नहुने भएको छ । नयाँ मूल्य सूची अनुसार निगमले मूल्यलाई स्थिर राखेमा आगामी १५ दिनमा एक अर्ब ६० करोड रुपियाँ नाफा हुने अनुमान गरेको छ । 

बिज्ञापन