राष्ट्रिय समाचार

सीताको जीवनयात्रा- १५ वर्षमा प्रचण्डसँग विवाह, १७ वर्षमा कम्युनिस्ट

बिज्ञापन

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधन भएको छ । उनको निधन आज बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा भएको हो ।

बिज्ञापन

२०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । विवाह गर्दा उनी १५ वर्षकी थिइन् ।

सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध रहेकी नेकपा माओवादी केन्द्रले जनाएको छ । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताएकी सीताले देशमा ‘जनयुद्ध’ सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।  २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालन भएको ‘जनयुद्ध’को समयमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकाे बताइन्छ ।

पछिल्लो समय उनी पार्किन्सन जस्तो दुर्लभ रोगलगायतका रोगहरूबाट ग्रसित थिइन् ।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल अहिले भरतपुर महानगरको मेयर छिन् भने गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव छिन् ।

सल्लाहकार सीताको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको छ ।

सीताको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको उनको पार्टी माओवादी केन्द्रको भनाइ छ । 

बिज्ञापन