Climate

मनसुनको एक महिनामा ४४ जनाको मृत्यु : ४५ करोड क्षति

बिज्ञापन

काठमाडौं, साउन ३ गते। नेपालमा मनसुन भित्रिएको एक महिनामा बाढी, पहिरो र चट्याङमा परेर ४४ जनाको जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। यो अवधिमा ४५ करोड बराबरको भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

बिज्ञापन

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार बाढी, पहिरो र  चट्याङका कारण ३२ पुरुष र १२ महिला गरेर ४४ जनाको मृत्यु भएको हो। सबैभन्दा बढी पहिरोमा परेर २० जनाको मृत्यु भएको छ। पहिरोमा १६ पुरुष र चार महिलाको मृत्यु भएको हो। यो अवधिमा चट्याङ्ले १७ जनाको मृत्यु भएको छ। जसमा १२ पुरुष  र पाँच महिला छन्। बाढीका कारण सात जनाको मृत्यु भएको छ। 

पहिरोले ५१ र बाढीले २३ जिल्ला प्रभावित 

एक महिनाको अवधिमा पहिरोले ५१ र बाढीले २३ जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका प्रवक्ता खड्काका अनुसार ५१ जिल्लाका २४२ ठाउँमा पहिरो गएको छ। पहिरोले २० जनाको मृत्यु हुँदा पाँच जना बेपत्ता छन्। १३ जना घाइतेको उपचार भइरहेको छ। 

पहिरोबाट ४८५ परिवार प्रभावित हुँदा ३७ घरमा पूर्णरुपमा क्षति भएको छ भने २२ घरमा आंशिक क्षति भएको छ। पहिरोबाट ७८ चौपायाको मृत्यु् भएको छ। पहिरोबाट एक करोड ६४ लाख क्षति भएको प्रवक्ता खड्काले बताउनुभयो।

बाढीले १६० परिवार प्रभावित हुँदा १९ घरमा पूर्ण र १२ घरमा आंशिक क्षति भएको छ। बाढीमा डुबेर ८१ चौपाया मरेका छन्। बाढीबाट चार करोड ६६ लाख बढी क्षति भएको प्राधिकरणको अनुमान छ। 

मनसुन सुरु भएपछि चट्याङ्बाट १७ जनाको मृत्यु हुँदा ३४ जना घाइते भएका छन्। चट्याङले ५० परिवार प्रभावित भएका छन्। यसबाट दुई घर पूर्ण र दुई घरमा आंशिक क्षति भएको छ। १६७ चौपाया मरेका छन्। चट्याङ्बाट १७ करोड ९६ लाखको क्षति भएको प्राधिकरणको अनुमान छ। 

पूर्वाधारमा ४५ करोड क्षति 

बाढी तथा पहिरोले सडकमा ४५ करोडको क्षति भएको  प्राधिकरणका प्रवक्ता खड्काले बताउनुभयो। कोशी प्रदेश मनसुन प्रवेश बिन्दुको रुपमा रहेका कारण यो प्रदेशमा सबैभन्दा बढी क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ।

मनसुन सुरु भएसँगै नौ वटा मोटरेबल पुल र २२ वटा झोलुङ्गे पुल बगाएको छ। झोलुङ्गे पुलमा मात्र १२ करोडको क्षति भएको छ। २८ सङ्घीय खानेपानी आयोजना बगाएको छ। 

छोटो समयमा क्षति बढ्यो

मौसमविज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले यस वर्ष छोटो समयमै पानी बढी परेका कारण क्षति बढेको बताउनुभयो। 

कँडेलले भन्नुभयो, “यो वर्ष छोटो समयमै धेरै वर्षा भएका कारण क्षति बढेको छ । विगतमा दुई-तीन दिन झरी पर्दा हुने वर्षा यो वर्षको मनसुनमा एकै दिन दुई–तीन घण्टामै हुँदा क्षति बढेको छ।’’ पूर्वबाट मनसुन भित्रिएकाले कोशी प्रदेशमा क्षति बढी भएको उहाँको भनाइ छ। 

यो वर्ष सङ्खुवासभाको नुङ्मा सबैभन्दा बढी ३८० मिलिमिटर वर्षा मापन भएको छ। यस पटकको मनसुन प्रि-मनसुन प्रकृतिकै रुपमा रहेकाले कतै पानी पर्दा कतै पानी नै नपरेको उहाँको भनाइ छ।  मनसुन प्रणाली विकसित भएपछि मधेश प्रदेशका जिल्लामा औसतभन्दा कम वर्षा मापन भएको कँडेलले बताउनुभयो। अहिले मनसुनी प्रणालीको पूर्वानुमान सार्वजनिक गर्न कठिन भइरहेको उहाँको अनुभव छ। 

राहतमा ३० लाख खर्च 

बाढी तथा पहिरोजन्य विपद्का घटनाबाट प्रभावित भएका व्यक्तिलाई राहतमा कमी नगरेको प्राधिकरणका प्रवक्ता खड्काले जानकारी दिनुभयो। राहतका लागि अहिलेसम्म ३० लाख रुपियाँ विपद् कोषबाट खर्च भइसकेको छ।  प्रवक्ता खड्काका अनुसार जिल्ला विपद् कोषमा पहिलेदेखि नै रकम जम्मा गरिँदै आएको र अहिलेसम्म यो कोषबाट प्रमुख जिल्ला अधिकारीले ३० लाख रकम खर्च गर्नुभएको हो। कोषमा रकम न्यूनतम भन्दा कमी नहोस् भनेर असार यता ९५ लाख जम्मा गरिएको उहाँको भनाइ छ। 

मनसुनको जोखिम कायमै

मनसुन नेपाल भित्रिएको सरदर ११२ दिनसम्म रहन्छ। यो वर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुनसक्ने जनाएको छ। दुई लाख ८६ हजार घरधुरीका १२ लाख ५० हजार नागरिक प्रभावित हुने पूर्वानुमान गरिएको छ। 

बिज्ञापन