कृषि

भारतबाट धान र चामल आयातको तयारी

बिज्ञापन

काठमाडौँ, साउन २१ गते  । सरकारले छिमेकी मुलुक भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ । 

बिज्ञापन

मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले धान र चामल ल्याउने विषयमा छलफल भएको र कति परिणाममा ल्याउने भनेर निर्णय भइनसकेको जानकारी दिनुभयो । बजारमा खाद्यान्न अभाव नभएको र आगामी दिनमा हुने सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै धान र चामल ल्याएर राख्ने हो कि भनी छलफल भएको उहाँले बताउनुभयो । 

भारतले चामल निर्यातमा रोक लगाएपछि हालै मुख्य सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो । सो बैठकले नै धान र चामलको सम्भावित अभावलाई मध्यनजर गर्दै त्यसको तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय धान र चामल ल्याउने तयारीमा जुटेको हो । 

नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुमुदकुमार दुगडले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन १० लाख टन धान आयात गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिनुभयो । भारतले धान मूल्य बढेकाले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा बजारमा चामलमा सामान्य मूल्य बढ्न गएको उहाँले बताउनुभयो । कच्चा पदार्थको मूल्य नै बढेकाले चामलको मूल्य प्रतिबोरामा ५० देखि ७० रुपियाँसम्म मूल्य बढ्न गएको उहाँले बताउनुभयो । बजारमा खाद्यान्नको अभाव नभएको र आगामी दिनमा हुन सक्ने अभावलाई रोक्न धान र चामल आयात गर्न माग गरिएको उहाँले जानकारी दिनुभयो तर भारतसँगको वार्षिक छ लाख मेट्रिक टनसम्म धानमा कर छुट कोटामा आयात हुने कोटा सकिएकाले थप समस्या हुन सक्ने उहाँले बताउनुभयो ।  

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले मौज्दात चामलमा मूल्य बढाएर उपभोक्ता ठगेको आरोप लगाउनुभयो । 

नेपालमा आवश्यक धान र चामलको करिब २१ प्रतिशत भारतबाट आयात हुने गरेको सङ्घले जनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गएको आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएको थियो ।

बिज्ञापन