राष्ट्रिय समाचार

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका माओवादी नेताको भेटघाट, बाढी पहिरोको समस्याबारे छलफल

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेशका माओवादी केन्द्रका नेताहरूले प्रदेशको बाढी पहिरोको समस्या लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

बिज्ञापन

पछिल्लो केहि दिन यता परेको झरीका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भइरहेको छ ।

सुदूरपश्चिम सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग समेत पहिरोले क्षति पुराएको छ । पाँच दिन पछि आज उक्त सडक सुचारु भए पनि अझै जोखिम भने उस्तै छ ।

आज प्रधानमन्त्रीसँगको भेटघाटमा भीमदत्त राजमार्गको अवस्था बाढी र पहिरोबाट प्रभावितहरूको व्यवस्थापन लगाएका विषयमा छलफल भएको माओवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य ओम विक्रम भाट सरलले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा माओवादी नेताहरूले वैकल्पिक मार्गको रूपमा दैजी जोगबुढा सडक सञ्चालन गर्न बारे जानकारी गराएका थिए ।

भौतिक सचिवलाई फोन गरेर सडक पुनर्निर्माण र दैजी जोगबुढा सडक सञ्चालन सम्बन्धमा प्रधानमन्त्रीले निर्देशन दिएको समेत उनले जानकारी दिए ।

प्रदेश सांसद भाटसहित माओवादीका नेता तथा पूर्व सांसद वीरभान चौधरी, माओवादी प्रदेश उपाध्यक्ष मानसिंह माल र कैलाली इन्चार्ज हरि ज्ञवाली अखण्डले बाढी पहिरोबाट जनजीवन प्रभावित भइरहेको बारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सरकारी निकायहरूलाई बाढी र पहिरोबाट क्षति हुन नदिन, उद्धार तथा राहतमा तदारुकता देखाउन निर्देशन दिएको समेत उनीहरुले जानकारी दिएका छन् ।

बिज्ञापन