राजनीति

राम्रो काम गर्दा सरकारमाथि विपक्षी र सत्तापक्षबाटै घेराबन्दी भएको छ : वर्षमान

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् ।

बिज्ञापन

पार्टी सम्बद्ध पेशागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताए ।

सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

पुनले भने, ‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ,हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ ।’

उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरूमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसहरूमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको भन्दै पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको औँल्याए ।

बिज्ञापन