Sudur Pradesh News

कैलालीमा तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, यस्तो छ चार्जिङ शुल्क

बिज्ञापन

धनगढीः नेपाल विद्युत् प्राधिकरणले कैलालीका विभिन्न स्थानमा निर्माण गरेका तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्। प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत कैलालीमा तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएका हुन्। यी स्टेसनबाट सवारी साधन छिटो चार्ज गर्न मिल्ने प्राधिकरणले जनाएको छ।

बिज्ञापन

प्राधिकरणका अनुसार चार्ज गर्दा प्रतिकिलोमिटर दूरीका लागि कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा १ रुपैयाँ २० पैसा खर्च लाग्छ। नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ। चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिएका छन्।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधानको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसन स्थापना गरिएको बताए। विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५/२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने उनले बताए। प्राधिकरणले कैलालीको धनगढीमा दुई र लम्कीमा एक गरी तीनवटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

बिज्ञापन