राष्ट्रिय समाचार

सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन

बिज्ञापन

काठमाडौं । सरकार र संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुबीच भएको छलफल विनानिष्कर्ष सकिएको छ । मंगलबार वार्तामा बस्न अस्वीकार गरेर बुधबार बृहत आन्दोलन चर्काएका शिक्षकहरू आज बिहीबार भने सरकारसँग छलफलमा बसेका थिए ।

बिज्ञापन

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित विभिन्न दलका शिक्षक संगठनका पदाधिकारीसहितले सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोक राईसँग छलफल गरेतापनि वार्ता भने निष्कर्षविहीन भएको हो । कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले जानकारी दिए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए । संसद्मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् ।

माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

बिज्ञापन