राजनीति

वर्तमान गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्नेमा जोड

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बिज्ञापन

साथै, उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए ।उनले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा पनि औँल्याउन सकिने उनको भनाइ छ ।

विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गरे । सरकार ढल्ने र नढल्ने बिषय सरकारको कामकारबाहीमा भरपर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको उनको भनाइ छ ।

त्यस्तै, केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिए । केन्द्रिय कार्यसमिति बैठक सोमबार पुनः ११ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बिज्ञापन