राजनीति

देशलाई निकास दिन सङ्कल्प यात्रा : अध्यक्ष ओली

बिज्ञापन

रुकुमपूर्व, मङ्सिर २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा अभियान सुरु गरेको बताउनुभएको छ । 

बिज्ञापन

आज रुकुमपूर्व सिस्ने गाउँपालिका –६ रुकुमकोटमा एमाले रुकुमपूर्वले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अहिलेको सरकारका कारण देश असफलताको बाटोमा गइरहेको कारणले एमालेले पश्चिम बैतडीदेखि पूर्वको पाँचथरसम्म सङ्कल्प यात्राको अभियान गरेको अध्यक्ष ओलीले बताउनुभयो । 

देश हरेक क्षेत्रबाट असफल भइरहेकाले देशलाई सही ढङ्गले निकास दिन मध्यपहाडी लोकमार्ग अन्तर्गतका जनसमुदायसँग राय, सुझाव सङ्कलन लिने काम भइरहेको अध्यक्ष ओलीले बताउनुभयो । देश असफलता तथा समस्यामा फसिरहेकाले समाधान गर्न जनतासँग एमालेले राय लिइरहेको उहाँको भनाइ छ । 

जनताबाट प्राप्त भएको रायअनुसार अभियान सम्पन्न भएपछि सरकारसँग संवादमार्फत देशलाई निकास दिनेतर्फ अघि बढाउने ओलीको प्रतिबद्धता छ । कर्मचारीलाई तलब खुवाउन पनि सरकारले ऋण लिनुपरेको अध्यक्ष ओलीले बताउनुभयो । 

देशको कर्मचारीलाई समेत ऋण लिएर तलब खुवाउनु भनेको सामान्य कुरा होइन, देशको आर्थिक अवस्था कति नाजुक छ भन्ने कुरा त्यसबाट थाहा हुने उहाँको भनाइ छ । यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्र सुधारमा ध्यान नदिएको उहाँले टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “अनुत्पादक क्षेत्रका लागि सरकारले ऋण लिइरहेको छ । त्यसलाई पूर्ति गर्न उत्पादन क्षेत्रमा लगानी गर्नेतर्फ सरकारको ध्यान छैन ।” सरकारको ध्यान सत्ता टिकाउने मात्र रहेको ओलीले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले मुलुकमा सुशासन कायम गर्न नसक्ने उहाँको भनाइ छ । 

गठबन्धन दलका कारण देश अहिले निरन्तर आर्थिक रुपले ओरालोतर्फ गइरहेको ओलीको भनाइ छ । एमालेको नेतृत्वमा सरकार सञ्चालन भइरहँदा देशले विकासको लय पक्रेको उहाँले दाबी गर्नुभयो । अहिले फेरि समस्या आएको उहाँको बुझाइ छ । देश विकास नचाहनेहरू विदेशीसँग मिलेर एमाले नेतृत्वको सरकार ढालेको उहाँले आरोप लगाउनुभयो ।  

सरकारले देश राम्रोसँग चलाउन नसक्दा हाल युवाहरू विदेश पलायन भइरहेको उहाँले बताउनुभयो । स्वदेशमै रोजगारी सिर्जना गर्न सकेको भए नेपाली युवाहरु विदेश जाने थिएनन् उहाँको भनाइ छ । 

आफ्नो देशको विकास आफैँ गर्नुपर्छ, त्यसका लागि आमयुवा देश विकासको भावना लिई नेपालमै सानो ठूलो केही नमानी काम गर्नुपर्छ उहाँले भन्नुभयो, “हालको अवस्था हेर्दा निराश हुनुपर्ने अवस्था छ । अन्य विकसित देशवासीले आफैँ आफ्नो देशको विकास गरेका हुन् । युवा निराश भएर देशबाट पलायन हुने होइन, नेपालको समृद्धिका निम्ति काम गर्नुपर्छ ।”

हाम्रो देश विकास गर्न सजिलो र धेरै सम्भावना रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र सरकारले असजिलो बनाएकै छ । स्थानीय नागरिकको समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि हामी सङ्कल्प यात्रामा लागेका छौं, अहिले तत्काल गर्नुपर्ने काम अहिले नै गर्छौं, बाँकी काम गर्दै जान्छौं ।”

बिज्ञापन