राजनीति

राष्ट्रियसभाको सीट बाँडफाँटमा नागरिक उन्मुक्तिको यस्तो छ दाबी, अन्य नियुक्तिमा पनि खोज्यो हिस्सा

बिज्ञापन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा गठबन्धनबाट कम्तीमा एक सीट दाबी गरेको छ ।

बिज्ञापन

नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सीट बाँडफाँटबारे छलफल गरेका हुन् ।

माघ ११ गते राष्ट्रियसभाका १९ सीटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपाले मात्र भागबन्डा गर्ने तयारी भइरहेका बेला नागरिक उन्मुक्तिले कम्तीमा एक सीट दाबी गरेको हो ।

नाउपा संरक्षक चौधरीले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचन र लुम्बिनी प्रदेश सरकारको विस्तारबारे छलफल भएको बताए ।

उनले आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेशमा १ मत रहेको र उक्त मतभार महत्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने बताए ।

नाउपाको सुदूरपश्चिममा ७ प्रदेशसभा सदस्य र ७ जना स्थानीय तहका प्रमुख उपप्रमुख छन् । त्यस्तै लुम्बिनी प्रदेशसभामा ४ र मधेशमा एक जना सांसद छन् ।

भेटमा लुम्बिनी सरकार विस्तारको अलमल र त्यहाँ उत्पन्न गठबन्धनभित्रकै समस्याबारे समेत छलफल भएको चौधरीले नेपाल प्रेसलाई बताए । नाउपाले सरकारले गर्ने राजनीतिक तथा संवैधानिक नियुक्तिहरुमा समेत गठबन्धनको आकारअनुसार आफूले पनि प्रतिनिधित्व पाउनुपर्ने माग राखेको छ ।

गठबन्धनमा आबद्ध दलमध्ये नाउपासँग संघीय संसदमा ४ सीट रहेको छ ।

बिज्ञापन